नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजीनामा स्वीकृत गरेका छन् ।देउवासँग महरले महाधिवेशन गराउने तदर्थ समिति गठन गर्दा सचेत हुन आग्रह गरेका हुन् ।
‘तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने नत्र दुर्घटनामा पर्नुहुन्छ,’ महरले सभापति देउवासँग भने, ‘दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।’जवाफमा देउवाले पार्टीका नेता र महरसँग सल्लाह गरेर नेविसंघको तदर्थ समिति गठन गर्ने आश्वाशन दिए ।
सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजीनामा दिएका हुन् । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो ।
यस अघि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सङ्घको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजीनामा स्वीृकत भएसँगै सङ्घको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले सङ्घको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया