काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा सुरक्षित ऐतिहासिक दस्तावेज तथा सामग्रीको संरक्षणसँगै प्रवर्धन गर्नुपर्ने बताएका छन्।
अभिलेखालयमा रहेका सामग्री मुलुकको अमूल्य सम्पत्ति भएकाले भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्नेमा उनले जोड दिए। मंगलबार साँझ रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपालको राजनीतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दस्तावेजको संरक्षण अपरिहार्य रहेको बताए।
‘यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य छ,’ उनले अभिलेखालयका कर्मचारीलाई भने, ‘अध्येता, विद्यार्थी र इतिहासमा चासो राख्नेहरूका लागि यो ज्ञान केन्द्र बन्नुपर्छ। यसको संरक्षणमा सबैले काम गरौं।’
अभिलेखालयमा सुरक्षित ऐतिहासिक दस्तावेज नेपालका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनले त्यसलाई व्यवस्थित रूपमा संरक्षण गरी आगामी पुस्तासम्म पुर्याउनुपर्ने बताए।
उनले अभिलेख संरक्षणमा भइरहेको प्रयासका लागि कर्मचारीलाई धन्यवादसमेत दिए। अवलोकनका क्रममा अर्थमन्त्री वाग्लेले विभिन्न ऐतिहासिक शासन व्यवस्थाका आर्थिक तथा राजनीतिक गतिविधिसँग सम्बन्धित अभिलेख र संग्रहबारे जानकारी लिएका थिए।
उनले अभिलेखालयले प्राप्त गर्दै आएको बजेट तथा त्यसबाट सञ्चालन भइरहेका कार्यक्रम प्रभावकारी भए–नभएको विषयमा पनि कर्मचारीसँग चासो राखेका थिए।
अर्थमन्त्रीलाई अभिलेखालयको अवस्थाबारे जानकारी गराउँदै पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने स्रोतसाधनको अभावमा ऐतिहासिक दस्तावेजको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताइन्।
उनका अनुसार अभिलेखालयमा सुरक्षित दस्तावेजका लागि पर्याप्त र सुविधासम्पन्न भौतिक पूर्वाधार नहुँदा सुरक्षा तथा व्यवस्थापनमा समस्या छ।
स्रोतको अभावमा अभिलेखालयको महत्त्वबारे अध्येता, विद्यार्थी र सरकारलाई समेत पर्याप्त रूपमा जानकारी गराउन नसकिएको उनले बताइन्।
प्रधानाङ्गले नयाँ स्थानमा पर्याप्त जग्गासहितको भवन निर्माण, अभिलेख संरक्षणमा आधुनिक प्रविधिको प्रयोग तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गर्न अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराइन्।
उनले ऐतिहासिक दस्तावेजलाई सुरक्षित राख्न भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोग र दक्ष जनशक्ति विकासमा पनि राज्यले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइन्।















प्रतिक्रिया