काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर नियुक्ति गर्ने तयारी थालेको छ।
सोहिअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच छलफल चलिरहेको छ। त्यसपछि डेपुटी गभर्नरको नाम टुंग्याउने आन्तरिक तयारी छ।
राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ। बालेन्द्र साह नेतृत्वको सरकारले गत चैत २४ गते नै सिनियर कार्यकारीहरुलाई पन्छाउँदै जुजियर कार्यकारी किरण पण्डितलाई सोझै डेपुटी गभर्नर नियुक्त गरिसकेको छ। तर, अर्को पदमा पनि अझैसम्म नियुक्त गरिएको छैन। यस बिच ऐन संसोधिन गरि तेस्रो डेपुटी बाहिरबाट ल्याउने बसह पनि चल्यो । यस सम्बन्धमा सांसदकै मत बाझिएपछि अन्ततः सरकारले अर्का डेपुटी गभर्नर नियुक्ति गर्ने तयारी थालेको हो।
रिक्त पदका लागि राष्ट्र बैंकभित्र आधा दर्जन कार्यकारी निर्देशकको नाम चर्चामा रहे पनि गभर्नर पौडेल भने कार्यकारी निर्देशक डा. दीर्घ रावललाई डेपुटी गभर्नर बनाउनुपर्ने पक्षमा देखिएका छन्।
गभर्नरले यसअघि तयार गरेको नामको सूचीमा समेत रावललाई प्राथमिकतामा राखेका थिए । तर, अर्थमन्त्रीले उक्त नाम सच्याएर ल्याउन भनेपछि नियुक्ति रोकिएको चर्चा छ। तर, अब पनि गभर्नर रावललाई नै सिफारिस गर्ने मुड रहेको बुझिएको छ।
रावललाई गभर्नर पौडेलले राष्ट्र बैंकभित्रको नीति, अनुसन्धान, नियमन तथा सुपरिवेक्षणका विषयमा राम्रो पकड भएका अधिकारीका रूपमा अघि सारेका छन्। गभर्नरले राष्ट्र बैंकभित्र रावल मौद्रिक नीति, बैंकिङ क्षेत्रको जोखिम तथा वित्तीय स्थायित्वका विषयमा अनुभव भएको अधिकारीका रुपमा अघि सारेका छ्न्। । त्यसैले डेपुटी गभर्नरका लागि उनी अन्य आकांक्षीभन्दा अब्बल रहेको गभर्नर पक्षको बुझाइ छ।
यता डेपुटी गभर्नर नियुक्तिलाई लिएर अर्थमन्त्री वाग्लेले पनि राष्ट्र बैंकका उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। गत बुधबार पनि १८ जना कार्यकारी निर्देशककासँग साँझ छलफल गरिएको थियो। j
छलफलमा कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरु पौडेल, रेवती नेपाल, अनुज दाहाल, डिल्लीराम पोख्रेल , मुक्ति सापकोटा र विश्रुत थापा लगायतसँग अर्थमन्त्री वाग्लेले डेपुटी गभर्नर नियुक्तिको विषयमा समेत कुराकानी गरेका थिए। अर्थमन्त्रीले डेपुटी गभर्नर नियुक्त गर्ने समय भएकाले सबैको धारणा बुझ्न खोजेको बताएका थिए। छलफलका क्रममा अर्थमन्त्री वाग्लेले भने मेरिटोक्रेसीका आधारमा नियुक्त गरिने संकेत गरेका थिए।
डेपुटी गभर्नर नियुक्तिमा अर्थमन्त्रीले राष्ट्र बैंकका अधिकारीहरूसँग छलफल गरेपछि केन्द्रीय बैंकको स्वायत्ततामाथि प्रश्न उठेको थियो। त्यसपछि भने वाग्लेले आफूले सम्भावित उम्मेदवार र राष्ट्र बैंकका उच्च अधिकारीहरूको धारणा बुझ्न मात्र छलफल गरेको बताउँदै आएका छन्।
अर्थमन्त्रीले १८ जना कार्यकारी निर्देशकको भिजन बुझिरहँदा गभर्नर पौडेल भने यसअघि नै तयार भएको सूचीलाई परिवर्तन नगर्ने पक्षमा रहेको देखिन्छन् । उक्त सूचीमा रावललाई बलियो उम्मेदवारका रूपमा राखिएको अर्थमन्त्रलय स्रोत बताउँछ।
गभर्नरको रोजाइ र सरकारको राजनीतिक तथा प्रशासनिक समीकरणबीच सहमति बनेमा रावल गभर्नर बन्ने पक्कापक्की जस्तै छ।
तर, डेपुटी गभर्नर नियुक्ति केवल गभर्नरको रोजाइमा सीमित हुने अवस्था छैन। अर्थ मन्त्रालय र राजनीतिक नेतृत्वले पनि सम्भावित उम्मेदवारको कार्यक्षमता, अनुभव र सरकारसँगको समन्वय क्षमतालाई आधार बनाउने देखिएको छ। त्यसैले अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।
गभर्नरको सिफारिस, अर्थमन्त्रीको धारणा र राष्ट्र बैंकभित्रका सम्भावित उम्मेदवारको मूल्यांकनपछि नाम टुंगो लगाउने तयारी छ। त्यसमा गभर्नर पौडेलले रावललाई नै अगाडि सार्ने सम्भावना बलियो रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ।
राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा को आउँछ भन्ने विषयले आगामी दिनमा केन्द्रीय बैंकको नियमन, बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण र मौद्रिक नीति कार्यान्वयनमा समेत प्रभाव पार्ने भएकाले नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी गभर्नर पौडेल र अर्थमन्त्री वाग्लेबीच पछिल्लो समय देखिएको समन्वय र असमझदारीको पृष्ठभूमिमा यो नियुक्ति सरकार र राष्ट्र बैंकबीचको शक्ति सन्तुलनको संकेतका रूपमा समेत हेरिएको छ।















प्रतिक्रिया