बिहीबार फेब्रुअरी १४ तारिख । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेको दिन । विश्वभर भ्यालेन्टाइन डेमा युवा युवतीहरुले चाडपर्वकै रुपमा लिएर चहलपहल बढाउने गर्छन् ।
यस दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् । यस अवसरमा विभिन्न सांगीतिक कन्सर्टहरुसमेत हुने गर्दछन् ।
कस्तो छ इतिहास ? विद्रोहको ज्वाला
भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ ।तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।
प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए ।
सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे । उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।
सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
के छ नेपालमा ?
नेपालमा पनि केही दशकअघिदेखि भ्यालेन्टाइन डेको चहलपहल बढ्दै गएको छ । नेपालमा पनि पर्यटकीय स्थलहरुमा कन्सर्टहरु हुँदै आएका छन् । पर्यटकीय स्थलहरुमा होटलहरुले भ्यालेन्टाइन जोडीका लागि प्याकेजकै व्यवस्था गरेको छ ।
विदेशी संस्कृति छिट्टै ग्रहण गर्ने र आफ्नो संस्कृतिलाई कुरीति भन्दै भुल्ने परिपाटी बढिरहँदा भ्यालेन्टाइन डे को महत्व बढ्दै गएको छ ।
गुलाबको बढ्दो डिमान्ड
भ्यालेन्टाइनकै लागि करोडौं मुल्यका गुलाब बिक्री वितरण हुने गरेको छ । नेपालले मात्र गुलाब उत्पादन गर्न नसक्ने भएपछि विदेशबाटै १८ करोडको गुलाब आयात गरिने जनाइएको थियो ।
गुलाबका रंगले धेरै कुराको अर्थ दिने हुँदा रातो गुलाब नै भ्यालेन्टाइनमा प्रयोगमा आउने गर्दछ । प्रेम होस् वा नहोस् गुलाब दिएर आफ्नो बनाउनका लागि अहिलेको नयाँ पिढी कुँदिरहेको छ ।
प्रतिक्रिया