काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आफ्नो पहिलो खेलमा नर्दन टेरिटोरी (एनटी) स्ट्राइकविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
डार्विनस्थित डीएक्ससी एरिनामा भइरहेको खेलमा नेपाल ‘ए’का कप्तान अनिलकुमार साहले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। नेपालले एनटी स्ट्राइकलाई ब्याटिङको निम्तो दिएको हो।
नेपाल ‘ए’को प्लेइङ–११ मा कप्तान तथा विकेटकिपर अनिलकुमार साहसँगै त्रितराज दास, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम र रिजन ढकाल छन्।
नेपालले यसपटक १५ सदस्यीय ‘ए’ टोली लिएर टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको हो। टोलीको कप्तानी अनिलकुमार साहले गरिरहेका छन्। कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बमलगायत अनुभवी खेलाडी पनि टोलीमा छन्।
नेपालले यस प्रतियोगितामा दोस्रोपटक सहभागिता जनाएको हो। गत वर्ष नेपालले सिनियर राष्ट्रिय टोली पठाएको थियो भने यसपटक नेपाल क्रिकेट संघ (क्यान)ले ‘ए’ टोलीलाई अस्ट्रेलिया पठाएको हो।
एनटी स्ट्राइकसँगको खेलपछि नेपालले अगस्ट २२ मा बंगलादेश हाई पर्फर्मेन्स, अगस्ट २४ मा होबार्ट हुरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरिया सीए–११ विरुद्ध खेल्नेछ।
टप एन्ड टी–२० सिरिज अगस्ट २१ देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा सञ्चालन हुँदैछ। नेपालका लागि यो प्रतियोगिता आगामी एसियाली खेलकुदका लागि खेलाडीको तयारी तथा राष्ट्रिय टोलीमा स्थान बनाउन चाहने खेलाडीका लागि आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
















प्रतिक्रिया