अघिल्लो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन तस्करीमा प्रहरीको संलग्नता भएको भन्ने घटना सल्टिन नपाउँदै प्रहरी अर्को सुन काण्डमा मुछिएको छ ।
बिहीबार कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका प्रहरी र उनका भाइ पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सादा पोशाकमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरूवा र उनका भाइ लक्ष्मण तिरूवा रहेका छन् ।
निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले बिहीबार दिउँसो एक घरमा खाडल खनेर खारेको अवस्थामा सुन बरामद गरेको थियो । सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुई महिनाअघि नै सुन कैलाली पुगेको पनि खुलेको छ । सुन लुकाएको घर प्रहरी जवान सुरजका भाई लक्ष्मणको ससुराली हो ।‘लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएका रहेछन् । भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए । तर तस्करीको सुन भएकाले कहिँ कतै प्रहरीमा उजुरी गरेनन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ । सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको प्रहरी स्रोतले बतायो ।नेपाली बजारमा १८ किलो सुनको मुल्य ९ करोड हुन आउँछ । सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको बताइन्छ । स्रोतका अनुसार यो अवैध सुन हो ।
३३ किलो सुन तस्करीमा प्रहरीका केही उच्च अधिकारी पुर्पक्षका लागि कारागार छन् भने केही रिहा भइसकेका छन् ।
प्रतिक्रिया