Logo

प्रमुख समाचार

‘ओली सरकारले एक वर्षे कार्यकालमा ‘पासमार्क’ पनि ल्याएन’



राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले ‘पासमार्क’ समेत नदिने बताएका छन् । उनले भने,‘मैले यो सरकारको एक वर्षे कार्यकाललाई पास मार्क दिन सकिँन् ।’

एक् कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यो एक वर्षको अवधिमा सरकारले धेरै ठूला–ठूला विकासका काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘दुई तिहाईको बलियो सरकार भएकोले जनताले यसले महँगी नियन्त्रण गर्ला र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशाा गरेका थिए । तर, यो सरकारले त्यो काम गर्न सकेन् ।’

केसीले सरकारले किसानको समस्यापनि समाधान गर्न नसकेको आरोप लगाए । उनले भने,‘क्रान्तिकारी भूमि सिद्धान्त पनि आएन् । मजदुरहरुको समस्या त्यस्तै छ । यतातिर सरकारले खासै केही पनि गर्न सकेन् । न नीति राम्रो ल्यायो, न त व्यवहारमा नै केही लागु गर्यो ।’ शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण भएको पनि उनले आरोप लगाए । उनले भने,‘नेपालीहरुको व्यवहार यहाँ उत्पादन निर्यात गरेर चलेको होईन, नेपालले गर्ने निर्यात भनेको हाम्रा छोराछोरीहरु हुन् । उनीहरुले पठाएको रेमिट्यान्सले व्यवहार चलेको छ ।’

सरकारले यो एक वर्षको अवधिमा साना तिना भ्रष्टाचारीहरुलाई पक्राउ गरेको भएपनि ठूला तस्करी र भ्रष्टाचारीहरुलाई पक्राउ गर्न नसकेको केसीको आरोप छ । उनले भने,‘साना भ्रष्टाचारी र भरिया पक्रिएर केही हुँदैन् । छुपे रुस्तम कुनामा अहिलेपनि ठूला ठूला माछा र तस्करहरु सुरक्षित छन् ।’

अध्यक्ष केसीले गणतन्त्र र धर्मनिरपेक्षता आउनु राम्रो भएपनि संघीयताले नेपाली जनतामाथि पीडा थपिदिएको गुनासो पोखे । उनले भने,‘संघीयताले जनतामा पीडा थपिदिएको छ ।’ संघीय व्यवस्थाअनुसार तीन तहको सरकार बनेपनि यीनीहरुको पहिलो र मख्य काम भनेको आफ्नो सेवा सुविधा लिनेमात्रै देखिएकोले यसलेपनि नेपालीहरुमा झन झन पीडा थपिएको उनको भनाई छ ।
केसीले वर्तमान सरकारले जनताको मन छुन नसकेको आरोप लगाए । उनले भने,‘संघीयता धान्नको लागि चर्को कर लगाउनुपर्ने देखिएको छ। यसले जनता झन पीडित भएका छन् ।’ उनले संघीयताको कुनै औचित्य नभएको भन्दै अझै एक दुई वर्ष ररिरहे यसको विरुद्धमा जनता सडकमा उत्रिने पनि ठोकुवा गरे ।

यता, नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शुन्य अंक दिने बताए । उनले भने,‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न सकेन । त्यसैले शुन्य अंक पाउनुपर्ने हो ।’

महासचिव मैनालीले सरकारले राम्रो योजनाअनुसार काम गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार पनि विगतकैजस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ । उत्पादनमा ह«ास भएको छ । भ्रष्टाचारहरु छरिएका छन् । अहिले भ्रष्टाचारको ईपिसेन्टर स्थानीय निकायमा सरेको छ।’

मुलुकमा सुशासन पनि नभएको उनले आरोप लगाए । उनले भने,‘सरकार अहंकारी र दम्भी बनेको छ । सञ्चार जगतमा नियन्त्रण जमाउने र मुख थुन्ने काम भएको छ ।’ मैनालीले सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कडा आलोचना गरे ।

सरकारले विकासको नााममा वातावरणीय पर्यावरणको विनाश गर्ने काम गरेको पनि उनको टिप्पणी थियो। उनले भने,‘विकासमा विनाश हुन्छ, तर कम क्षतिमा हुनुपर्दछ । अहिले त्यस्तो भएको छैन् । विकासको नाममा प्राकृतिक स्रोत र साधनको दोहन भैरहेको छ ।’
उनले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू रहेको बताए । यद्धपी यसको निर्माणसँगै बायोलोजिकल डाईभर्सीटीलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सरकार दलाल पुँजीपतीहरुको पक्षमा रहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘भन्नलाई यसले समाजवादउन्मुख भनेपनि यसले व्यवहारमा त्यो चरित्र छोडिसक्यो । राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ल्याउँदापनि सरकारले प्राईभेटहरुलाई प्रोत्साह गर्नेगरि ल्याएको छ।’

उता, नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले यो सरकारले एक वर्षमा गरेको कामको फेहरिस्त भन्दापनि गर्न नहुने काम के–के गर्यो भन्ने फेहरिस्त आफूहरुसँग रहेको सुनाए । उनले भने,‘यो सरकारले महँगी बढाउने काम गर्यो । यही सरकारको पालामा तस्करी उजागर भयो । साँढे ३३ केजी सुन गिरफ्तार भयो, तर त्यो सुन कहाँ छ भन्ने कुरा अहिलेसम्म थाहा छैन् । अहिलेसम्म यसबारेमा जनतालाई कुनै सुचना छैन् ।’शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणमात्रै नभएर माफीयाकरण भएको उनले आरोप लगाए । उनले भने,‘पूरै माफियाकरण भएको छ । जनतासँग प्रत्यक्ष जोडिएको विषयमा यस्तो हालत छ ।’

त्यस्तै उनले मुलुकको शान्ति, सुरक्षाको अवस्था पनि चिन्ताजनक रहेको सुनाए । गजुरेलले भने,‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन भयो । त्यसपछि पनि कयौं घट्ना भए, तर यो सरकारले जिम्मेवारी लिँदैन् । गृहमन्त्री र प्रधानमन्त्रीको अभिव्यक्ति तपाई हामिले सुनिहालेकै छौं । उहाँहरुको अनुसन्धान भैरहेको छ, १२ वर्षसम्म पनि लाग्न सक्छ भन्नुहुन्छ ।’

भ्रष्टाचार संस्थागत भएछ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले नै बालिसकेको सुनाउँदै उनले भने,‘अब भ्रष्टाचार संस्थागत भएको छ । ओलीजीले देशवासीको नाममा सम्बोधन गर्दा यो एक वर्ष तयारी गर्दैमा बित्यो भन्नुहोला भनेको त उहाँले एक वर्षमै अनुपम काम भयो भन्नुभयो । विकासको जग हाल्यौं भन्नुभयो ।’उनले यो एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? भन्दै प्रश्न समेत तेर्र्साए । उनले भने,‘अहिलेकै अवस्था चार गुणा बढ्यो भने नेपालको अस्तित्व रहला कि नरहला ? मलाई लाग्छ नेपालको अस्तित्व रहँदैन् ।’

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई हटाएर मात्रै देशको समस्या समाधान नहुने जिकिर गरे । उनले भने,‘यो सरकारलाई कांग्रेसबाहेक सबैको समर्थन छ, उहाँलाई कसैले हटाउन नसक्ने भन्नेमा ढुक्क छ ।’ गजुरेलले अपमानित हुनेगरि पत्रकारले छापे भने १५ लाख जरिवाना र ५ वर्षको कैद गर्ने सरकारले व्यवस्था गर्न लागेको भन्दै आलोचना गरे । उनले भने,‘संसदमा दुई तिहाई छ, जे गरेपनि भैगयो नि । पञ्चायतकालिन पत्रकारकोजस्तो अवस्था भएको छ ।

कार्टुन बनाउने पत्रकारलाई पनि जेलमा हालिएको छ। भ्रष्टाचार गरेको मान्छेलाई पनि सोधेरमात्रै समाचार छाप्नुपर्ने अवस्था आयो ।’ उनले मुख्य समस्या राज्य व्यवस्थामा र संविधानमा रहेको पनि औंल्याए । उनले भने,‘त्यसैले यो व्यवस्था र संविधानलाई नै बदल्नुपर्छ । यो संभव छ । परिवर्तन सडकबाट मात्रै हुन्छ । जनता सडकमा आउनुपर्छ । सरकार असफल भएको छ तर यही सरकारलाई मानिरहनुपर्ने कस्तो बिडम्बना ?’

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ७ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।