Logo

प्रमुख समाचार

एनसेलको एक टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर बाढीले नष्ट



काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

भदौ १० गते आएको बाढीले रसुवाको टिमुरेमा रहेको एनसेलको एक मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्ण रूपमा नष्ट गरेको कम्पनीले जनाएको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा एनसेलका २७ वटा मोबाइल साइट प्रभावित भएका थिए। तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ।

बाँकी तीन साइटमध्ये रसुवाको घट्टेखोला, टिमुरेमा रहेको टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। नुवाकोटको त्रिशूली, बिदुर र रसुवाको तिरुस्थित टावर पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली फिल्डमा खटिएको छ।

बाढी प्रभावित ग्राहकलाई सञ्चार सम्पर्कमा राख्न एनसेलले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराइरहेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहक यो सेवाबाट लाभान्वित भइरहेका छन्।

बाढी आउनुअघिको सात दिनमा सम्बन्धित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ। सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको सेवा शनिबारदेखि थप सात दिनका लागि विस्तार गरिएको थियो।

कम्पनीका अनुसार सोमबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएसको मूल्य १ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको थियो।

कम्पनीले संकटका बेला सञ्चार सेवा अवरुद्ध नहोस् भनेर २५ हजारभन्दा बढी ग्राहकका सिम पुनः सक्रियसमेत गरेको जनाएको छ। ब्यालेन्स टपअप नभएका कारण एकतर्फी सेवा रोकिएका तथा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिमलाई पुनः सक्रिय गरिएको हो। उनीहरूले समेत निःशुल्क सेवाको सुविधा पाएका छन्।

एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन र एसएमएस पनि पठाइरहेको छ। राहत कोषमा रकम पठाउँदा खाता, क्यूआर तथा लिंक आधिकारिक भए–नभएको सुनिश्चित गर्न आग्रह गरिएको छ।

त्यस्तै, सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा बाढीपीडितका विभत्स तथा हृदयविदारक तस्बिर र भिडियो नराख्न तथा राखिसकेको भए हटाउन पनि अनुरोध गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार २०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।