काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको यथाशीघ्र खोजतलास गर्न सरकारसँग माग गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
खड्काले आफ्नो गृहजिल्ला डोटीका दीपक बोहरा र कीर्ति विष्टलगायतका नागरिकसमेत हालसम्म अज्ञात अवस्थामा रहेको बताए । उनीहरूको तत्काल खोजी गर्न सरकारसँग जोडदार माग गरे ।
उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए । नागरिकको उद्धारका लागि मित्र राष्ट्र तथा सहयोगी संघ–संस्थाबाट आवश्यक सहयोग लिन सरकारले कुनै संकोच गर्न नहुने उनको भनाइ थियो ।
‘सरकारको पहिलो कर्तव्य नागरिक बचाउनु हो, नागरिक बचाउनका लागि कुनै पनि मित्र राष्ट्र वा सहयोगी संघ–संस्थाबाट लिने सहयोगमा कुनै संकोच गर्नुहुँदैन,’ उनले भने ।
खड्काले विपद्को अवस्थामा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन तीनै तहका सरकारलाई सहभागी गराउनुपर्नेमा जोड दिए । साथै राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबै पक्षलाई साथमा लिएर विपद् व्यवस्थापनको काम अघि बढाउनुपर्ने बताए ।
















प्रतिक्रिया