Logo

समाचार

बाढी प्रभावितका लागी केभिडी ग्रुपद्वारा प्रधानमन्त्री उद्दार कोषमा २७ लाख बढी सहयोग



काठमाडौं । देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रालि. (केभिडी ग्रुप) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

केभिडी ग्रुपकी अध्यक्ष सुना मुखर्जीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै उक्त सहयोगबारे औपचारिक जानकारी गराएकी हुन्।

कम्पनीले हालै देशका विभिन्न भागमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको जनाएको छ।

विपद्का बेला निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै सहयोग गरिएको कम्पनीको भनाइ छ। उक्त रकमबाट विपद् प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका काममा योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

केभिडी ग्रुपले सहयोग रकम विपद् प्रभावित नागरिकको हितमा प्रभावकारी रूपमा सदुपयोग हुने अपेक्षा गरेको जनाएको छ।

साथै, विपद्का बेला सरकार तथा सम्बन्धित निकायबाट भइरहेका राहत, उद्धार र पुनःस्थापनाका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि आवश्यक सहयोगमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १९:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।