Logo

विविध

बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक



काठमाडौं । भोटेकोशी तथा त्रिशूली बाढीका कारण विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षेत्रगत क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भवन, सडक, कृषि, पशुपन्छी, बैंक तथा दूरसञ्चारलगायत क्षेत्रमा भएको प्रारम्भिक मूल्याङ्कनबाट उक्त क्षति देखिएको जानकारी दिए ।

उनका अनुसार आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

उनले भने, ‘हामीले अर्ली रिकभरीअन्तर्गत अबको चार महिनासम्म भवन निर्माण, बस्ती तथा बसोबास, पुल निर्माण, स्वास्थ्य तथा पोषण, शिक्षा, कृषि तथा पशुपन्छी, ऊर्जा तथा दूरसञ्चारलगायत सबै क्षेत्रमा कति खर्च लाग्छ भनेर अध्ययन गरेका थियौँ । प्रारम्भिक अनुमानअनुसार चार महिनाभित्रको अर्ली रिकभरीका लागि ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको आवश्यकता देखिएको छ ।’

प्राधिकरणले उत्तरी चीन सीमा क्षेत्रबाट ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी ११४ जनाको सकुशल उद्धार गरिएको जनाएको छ । त्यस्तै, अर्को स्थानमा सकुशल रहेका कम्तीमा २० जनाको समेत उद्धार गरिएको उप्रेतीले बताए ।

उनले भने, ‘हाम्रो उत्तरी क्षेत्र, चीन सीमा क्षेत्रबाट उद्धार भएर ११३ जना नेपाली र एक जना चिनियाँ नागरिक गरी जम्मा ११४ जना सकुशल उद्धार भई आज काठमाडौं फर्किँदै हुनुहुन्छ । त्यो हाम्रो लागि एकदमै सुखद समाचार हो । साथै, कम्तीमा २० जना मानिस पनि अर्को ठाउँमा सकुशल बसिराखेको अवस्थाबाट हामीले उद्धार गरिसकेको अवस्था छ ।’

खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको भन्दै उप्रेतीले दैनिक १० देखि १२ वटा हेलिकप्टरमार्फत खोज, उद्धार तथा शव संकलनको काम भइरहेको जानकारी दिए। टनेलमा फसेकाहरूको उद्धारका लागि समेत अपरेसन जारी रहेको उनले बताए ।

उनले भने, ‘ग्राउन्डमा अहिले टनेलको बारेमा धेरै प्रश्न आइरहेको अवस्थामा हामीले टनेलको अपरेसनलाई पनि निरन्तरता दिएका छौँ । अझै पनि जीवितै उद्धार होस् भन्ने आशा र कामना गर्दछौँ। हेलिकप्टरमार्फत गरिने उद्धार पनि जारी नै राखेका छौँ ।

प्रत्येक दिन १०–१२ वटा हेलिकप्टर उडानमार्फत खोज, उद्धार तथा शव संकलन कार्य अगाडि बढिरहेको छ ।’

प्राधिकरणका अनुसार काठमाडौंंबाट विभिन्न २१ वटा तथा थपिएका शिविरमा खाद्य तथा राहत सामग्री ढुवानी भइरहेको छ । भौगोलिक कठिनाइका कारण कतिपय प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न नसकेको गुनासो सम्बोधन गर्न काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रारम्भिक क्षतिको तथ्याङ्कलाई थप विस्तृत क्षति मूल्याङ्कन तथा विपद्पछिको आवश्यकता मूल्याङ्कन मार्फत थप स्पष्ट पारिने उप्रेतीले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार २०:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।