इलाम । बेलिब्रिज निर्माणका सामग्री बोकेको ट्रक बिहीबार इलाममा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी २९ बी २९४४ नम्बरको ट्रक मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना भएको हो।
दुर्घटनामा भारतको दक्षिण दिनेशपुर गंगारामपुरका ३८ वर्षीय सहचालक सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन्।
घाइते हुनेमा ट्रक चालक भारतको दक्षिण दिनेशपुर गंगारामपुरका ३० वर्षीय रबिन बर्मुन र ट्रकमा सवार सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ का २९ वर्षीय आशबहादुर तामाङ छन्।
घाइते दुवै जनालाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रक अनियन्त्रित भएर सडकको दाहिने भागबाट करिब पाँच मिटर तल खसेको थियो।
उक्त ट्रक इलामको तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत इलाम नगरपालिका–१० र माईजोगमाई गाउँपालिका–४ जोड्ने जोगमाई खोलामा निर्माणाधीन बेलिब्रिजका सामग्री लिएर झापाबाट इलामतर्फ आउँदै थियो।
















प्रतिक्रिया