काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरेको छ। हाल सञ्चालनमा रहेका ७ वटा बसलाई बढाएर २८ पुर्याउने तथा थप ६ वटा नयाँ रुट सञ्चालनमा ल्याउने प्रस्ताव गरिएको छ।
प्रस्तावित नयाँ रुटमार्फत उपत्यकाका प्रमुख अस्पताल, व्यापारिक केन्द्र तथा मुख्य क्षेत्रलाई जोड्ने योजना छ। यसबाट रातको समयमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने महानगरको लक्ष्य छ।
रात्रिकालीन यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन बसमा निगरानी क्यामेरा (सीसीटीभी) तथा स्थान पहिचान प्रणाली (जीपीएस) जडान गर्न पनि सिफारिस गरिएको छ।
यी प्रविधिको प्रयोगबाट यात्रुको सुरक्षा बढाउनुका साथै बसको सञ्चालन र अनुगमनलाई प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ।
महानगरले प्रस्तावित रुट र सेवा विस्तारको योजना कार्यान्वयनमा आएपछि उपत्यकामा रातको समयमा सार्वजनिक यातायातको पहुँच थप विस्तार हुने जनाएको छ।
















प्रतिक्रिया