काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले पहिलो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो ।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो ।
इशान पाण्डेले ९० रनको शानदार पारी खेले पनि नेपालको हार टरेन । यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे ।
बलिङतर्फ हङकङका अइजज खानले चार, यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए ।
त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो ।
उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले । उनी ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।
















प्रतिक्रिया