Logo

प्रमुख समाचार

सरकारी रबैयाबिरुद्ध आन्दोलनका लागि तयार रहन उपसभापति निधिको निर्देशन



नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको दम्भ देखाएर केपी ओली नेतृत्वको सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई आतंकित पारेको भन्दै सरकारको रबैयाबिरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को शपथग्रहण कार्यक्रमलाई सोमबार सम्बोधनका क्रममा निधिले प्रदेश सरकारले पनि कर्मचारीलाई भेदभाव गरिरहेको गुनासाहरु आएको भन्दै आवश्यक परे आन्दोलनको लागि तयार भएर बस्नुपर्ने बताएका हुन्।

‘पञ्चायतकालमा पनि सरकारले यस्तै काम गरेको थियो’, उनले भने ‘सरकारको त्यस्तो कामलाई कर्मचारीहरुले ध्वस्त पारिदिएको कुरा कम्युष्टि सरकारलाई हेक्का होस्।’ राजनीतिक र वैचारिक आस्थाको आधारमा कर्मचारीलाई तर्साउने काम आफूहरुलाई सह्य नहुने निधिले बताए। उनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर जनताको सेवामा तदारुकताका साथ खट्न कर्मचारीहरुलाई आग्रह गरे।

स्वास्थ्यकर्मी संघ प्रदेश २ का अध्यक्ष शिवजी दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीलगायतका वक्ताहरुले एकजुट भएर आफ्नो हकअधिकारका लागि अगाडि बढ्न कर्मचारीहरुलाई आग्रह गरेका थिए।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ५ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।