Logo

समाचार

नेकपा सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सांगठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

गत पुस १२ गते सम्पन्न स्थायी कमिटि बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो।उक्त कार्यदलले तयार पारेको सांगठनिक एकतासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकमा पेश गरिएको हो।

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। कार्यदलको प्रतिवेदनमाथि छलफल जारी राख्दै अर्को बैठक बिहीबार बस्ने भएको छ।

सांगठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन नसकेको बैठकमा सहभागी नेताहरुले जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले बिहीबार बस्ने बैठकमा कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र सांगठनिक एकताको विषयलाई कसरी टुंगो लगाउने भन्ने बारेमा आवश्यक नीति र निर्णय गरिने जानकारी दिए।

गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय संगठनको एकता हुनसकेको छैन।

स्थायी समितिले कार्यदल नै गठन गरेर सांगठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुननसक्दा एकता प्रक्रियामा विलम्ब हुँदै आएको छ।

आगामी संयुक्त बैठकबाट एकता सम्बन्धी विषयलाई टुङ्गो लगाउने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ।

प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार  ५ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।