Logo

प्रमुख समाचार

आज ६९औँ प्रजातन्त्र दिवस, मुलुकभर विभिन्न कार्यक्रमका साथ मनाइँदै



एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ । सोही दिनको स्मरण गर्दै आज मंगलबार देशभर विभिन्न कार्यक्रमका साथ ‘६९औँ प्रजातन्त्र दिवस’ मनाइँदैछ ।

२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १ सय४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । त्यस्तै, प्रजातन्त्र स्थापनाका लागि शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ माघमा दिएका बलिदान उल्लेखनीय छ ।

जनक्रान्तिको माध्यमबाट राणाको पारिवारिक शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ । यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले मङ्गलबार ८ बजे सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ । दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरिक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकले नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनले त्यसलाई लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदैं राष्ट्रपति विद्यादेवी भण्डारीले जनताले गरेको आन्दोलनबाट प्राप्त उपलब्धीको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु मुख्य जिम्मेवारी रहेको औंल्याइन् । उता, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले बलिदानका साथ ल्याएको प्रजातन्त्रलाई समृद्धि र विकामार्फत परिस्कृत गर्नुपर्नेमा जोड दिएका छन । सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  ४ : ०६ बजे