काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिङ्गिट (७४ लाख रुपैयाँ) बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ ।
हालै रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।
विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ । मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी नाडमा (एनएडीएमए)ले यसको व्यवस्थापन तथा समन्वय गरेको हो ।
कम्पनीकाअनुसार, ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट (एसएमएआरटी)को मुख्यालयमा नाडमा (एनएडीएमए)लाई हस्तान्तरण गरिएका थिए ।
मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट (एसएमएआरटी)को टोली द्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएको र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ ।
ड्रोन हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, र नाडमा (एनएडीएमए)का महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमको उपस्थिति रहेको थियो । उक्त हस्तान्तरण कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरू चु ह्वाई जेङ, र इन्चिक जुल इज्बान हम्जाको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको स्पष्ट अवस्थाबारे जानकारी लिन ड्रोनले महत्त्वपूर्ण सहयोग पुर्याउने बताए । साथै, नेपालमा प्रयोग गर्नुअघि स्मार्ट(एसएमएआरटी)को टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिम दिइने पनि उनले बताए ।
नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत प्रोटोन नेपालमा आएको हो भने हाल नेपालमा प्रोटोन ब्रान्डको लोकप्रियता बढ्दै गएको छ ।
प्रोटोनले यस्ता विपद् तथा कठिन परिस्थितिमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद योगदान गर्दै विपदको घडीमा नेपालप्रति आफ्नो प्रतिबद्धता जनाएको छ ।
















प्रतिक्रिया