Logo

अर्थ

साना तथा मझौला व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज–२४’ सेवा



काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई)का लागि ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार व्यावसायिक परिसरका हरेक कुनासम्म समान र भरपर्दो वाइफाई पहुँच सुनिश्चित गर्ने तथा क्लाउडमार्फत वाइफाई सञ्जाल व्यवस्थापन गर्न सकिने गरी सेवा तयार पारिएको हो । साना तथा मध्यम व्यवसाय सञ्चालकसँगको प्रत्यक्ष छलफल तथा विभिन्न चरणमा गरिएको क्षेत्रगत परीक्षणपछि बिज २४ विकास गरिएको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट जडानमा निर्भर छन् । यसका कारण व्यवसायिक परिसरका केही स्थानमा वाइफाईको पहुँच नपुग्ने, महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा सञ्जालमा भइरहेको गतिविधिबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन् । ‘यिनै चुनौतीको समाधानका रूपमा बिज २४ ल्याइएको हो । यसले व्यवसायलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ’ राजभण्डारीले भने ।

क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र को–वर्किङ कार्यालयलगायत व्यवसायलाई लक्षित गरी बिज २४ तयार पारिएको कम्पनीले जनाएको छ ।

बिज २४ अन्तर्गत व्यवसायिक परिसरको क्षेत्रफल, भौतिक संरचना र आवश्यकताअनुसार उपयुक्त वाइफाई सञ्जालको योजना तथा सुझाव उपलब्ध गराइनेछ । एउटै राउटरमा मात्र निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यकताअनुसार थप उपकरणमार्फत सञ्जाल विस्तार गर्न सकिने कम्पनीको भनाइ छ ।

यस सेवामा प्राथमिकता सहयोग समेत उपलब्ध हुनेछ । इन्टरनेट सेवामा समस्या आएमा बिज २४ ग्राहकले ०१–५९७००४० मा सम्पर्क गरी प्राथमिकताका आधारमा सहायता लिन सक्नेछन् ।

बिज२४ अन्तर्गत ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहका प्याकेज उपलब्ध छन् । यी प्याकेजमा २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको इन्टरनेट गति उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै, सबै प्याकेजमा व्यवसायिक स्तरको राउटर, सार्वजनिक स्टाटिक आईपी र प्राथमिकता सहयोग समावेश छन् । बिज २४ को वार्षिक शुल्क ३० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ । उक्त शुल्कमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश छैन ।

कम्पनीका अनुसार बिज २४ सेवा नयाँ जडान गर्ने तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि देशभर उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १२:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।