नेपाल तरुण दलले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।मंगलबार तरुण दलले नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा ‘तरुण र वर्तमान राजनीति’ विषयक अन्तरक्रिया गरेको छ । अन्तरक्रियालाई अध्यक्ष जितजंग बस्नेत, महासचिव भुपेन्द्रजंग शाहीसहितका तरुण नेताहरू सम्बेधन गरेका थिए ।
तरुण दलका अध्यक्ष बस्नेतले तरुण युवाहरूको काँधमा ०७ सालको उपलब्धिलाई बचाउने समय पुनः आएको बताएका छन् । उनले अहिलेको केपी ओलीको कम्युनिस्ट सरकार अधिनायकवादी बन्दै गएको भन्दै यसलाई रोक्नुपर्ने आवश्यक्ता आएको बताए ।कम्युनिस्टहरू निरंकशुता र अधिनायकवादका विरुद्ध लड्न तयार रहने अध्यक्ष बस्नेतले युवा तरुणहरूलाई निर्देशन दिए । उनले जनताको अधिकारका लागि तरुण दलले कुनै पनि सम्झौता नगर्ने बताए ।
महासचिव शाहीले वर्तमान कम्युनिस्ट सरकार हरेक ठाउँमा असफल भएको बताए । ‘महँगी भएको छ, भ्रष्टाचार भएको छ, शान्ति सुरक्षा विग्रिएको छ, निर्मला पन्तका हत्याराहरू पक्राउ पर्न सकेका छैनन्’, उनले भने, ‘कम्युनिस्ट सरकारविरुद्ध तरुण दलले हज्जारौँको सहभागितामा सात ठाउँमा विशेष प्रदर्शन गरेको छ ।’
नेपाली कांग्रेसले ०७ सालमा गरेको आन्दोलनले नेपाली जनताले अधिकार पाएको उनले बताए । महासचिव शाहीले ०७ सालको क्रान्ति र आन्दोलनलाई कम्युनिस्टहरूले स्वीकार गर्न नसकेको बताए ।
‘०७ सालको क्रान्तिले गर्दा नै अहिलेको अवस्थासम्म आइपुगेका छौँ’, उनले भने, ‘वीपी कोइरालाको नेतृत्वमा भएको त्यो क्रान्तिलाई हामीले बचाइ राख्नुपर्ने बेला भएको छ ।’दुई तिहाइको बहुमत पाएको कम्युनिस्ट सरकारले अधिनायकवाद ल्याउन खोजेको भन्दै शाहीले अधिनायकवादका विरुद्ध लड्नुपर्ने बेला आएको बताए ।काठमाडौं, भक्तपुर र ललितपुरका तरुण युवाहरूको कार्यक्रममा सहभागिता थियो ।
प्रतिक्रिया