Logo

अन्तर्राष्ट्रिय

दिल्लीमा जारी ब्रिक्स सम्मेलनको आज अन्तिम दिन



काठमाडौं । भारतको नयाँदिल्लीमा शनिबारदेखि जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको आज अन्तिम दिन हो। सम्मेलनको अन्तिम दिन खुला बैठक आयोजना हुँदैछ, जसमा ब्रिक्स सदस्य राष्ट्रका नेता तथा आमन्त्रित देशका प्रमुख सहभागी हुनेछन्।

खुला बैठकमा ब्रिक्ससँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने कार्यक्रम छ। बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार देशका नेतासँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गर्नेछन्।

सम्मेलनको पहिलो दिन भारतले ब्रिक्स राष्ट्रहरूबीच तत्काल साझा मुद्रा निर्माण गर्ने कुनै प्रस्ताव नरहेको स्पष्ट पारेको थियो। यद्यपि सदस्य राष्ट्रबीच स्थानीय मुद्रामा व्यापार तथा भुक्तानी प्रवर्द्धन गर्ने विषयमा छलफल भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

स्थानीय मुद्रामा कारोबार बढाउने उद्देश्य सदस्य राष्ट्रबीचको व्यापारलाई सहज बनाउनु र लेनदेनको लागत घटाउनु रहेको बताइएको छ।

यसैबीच, सम्मेलनको पहिलो दिन शनिबार ब्रिक्स सदस्य राष्ट्रहरूले ‘नयाँदिल्ली घोषणापत्र’ अनुमोदन गरेका छन्। घोषणापत्रमा रुस, चीनलगायत सदस्य राष्ट्रहरूले भारतको पहलगाममा भएको आतंकवादी हमलाको निन्दा गरेका छन्।

ब्रिक्स राष्ट्रहरूले आतंकवादीलाई आश्रय दिने तथा सहयोग गर्नेहरूमाथि संयुक्त रूपमा कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८३, आईतवार ०८:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।