Logo

समाचार

मनोहरा खोलामा बाढीको बहाव बढेपछि स्थानीय सुरक्षित स्थानमा



भक्तपुर । भक्तपुर र काठमाडौंको सीमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेपछि खोला किनारमा बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

सोमबार साँझ चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौंको साँखुसम्मका क्षेत्रमा परेको ठूलो वर्षापछि मनोहरा खोलामा बाढी आएको हो। बाढीका कारण खोला किनारका बस्तीमा पानी पसेपछि स्थानीयहरू भक्तपुरको लोकन्थली हाइटतर्फ पुगेका थिए।

स्थानीय कमलनाथ प्रसाईंका अनुसार साँझको वर्षापछि बस्तीमा पानी पस्न थालेको थियो। खोलाको बहाव बढेपछि सोमबार राति करिब ९ बजे साइरनसमेत बजाइएको थियो।

सरकारले यसअघि मनोहरा सुकुमबासी बस्ती हटाइसकेको भए पनि जडीबुटी–पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर तथा आफ्नै जग्गामा घरटहरा बनाएर बस्दै आएका बस्तीमा बाढी पसेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार खोलामा बाढीको बहाव बढेपछि रातिदेखि नै खोला किनारका बस्तीमा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा सारेको उनले बताए।

उनका अनुसार आवश्यक परे उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ। राति १० बजेपछि भने मनोहरा खोलामा पानीको बहाव क्रमशः घट्दै गएको उनले जानकारी दिए।

जोखिम अझै कायम रहेकाले खोला आसपासका बस्तीका स्थानीयलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलवार ०८:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।