Logo

प्रमुख समाचार

विवाहको आश्वासनदेखि ‘राजदूत’ बनाउने प्रलोभनसम्म, डम्बर खतिवडामाथि ठगीका आरोप



काठमाडौं । तेह्रथुमकाका संजय खतिवडा भनेर चिनाउने ४१ वर्षीय डम्बर खतिवडा अहिले प्रहरी हिरासत छन्। पक्राउ पर्नुअघि प्रहरीलाई प्राप्त अनलाइन जाहेरीकी जाहेरीवाला महिलासँग लण्डनमा कार्यक्रमका सिलसिलामा भेट भएपछि आत्मीय सम्बन्ध बनाएको र त्यसैको आडमा ठगी गरेको पाईएको छ। भदौ ८ गते पक्राउ परेका खतिवडामाथि वैदेशिक रोजगार, ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भईरहेको छ ।

त्यस्तै, एसपी थापाका अनुसार अहिले काठमाडौंमै बसोबास तथा व्यवसाय गर्ने अर्की युवतीले पनि उनीविरुद्ध जाहेरी दिएकी छन् ।

खतिवडा नेपाल फिल्म सोसाइटीका ‘इन्भाइटी मेम्बर’समेत हुन्। खतविडाले काँडेतार, आँधी तुफान २ मा अभिनय गरेका छन् ।

खतिवडाले सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रभावशाली पहिचान बनाएका व्यक्तिहरूसँगको सम्बन्धलाई आफ्नो परिचय बनाउँदै दर्जनौँ हाईप्रोफाइल महिलाहरुमाथि शारिरिक मानसिकसँगै आर्थिक शोषण गरेको तथ्य एकपछि अर्को गर्दै उजागर भईरहेका छन्। खतिवडाले आफू दक्षिण कोरियाको राजदूत बनेकोबताउँदै विवाह गरेर कोरियाजाने र त्यतै व्यापार गर्ने भन्दै ठगी गरेको जाहेरीमा उल्लेख छ। खतिवडाले राजदूत बनाएवापत सभामुख डिपी अर्याललाई १ करोड ७५ लाख दिनुपर्ने उनले ती युवतीलाई बताएका थिए । यसअघिकी जोहरवाली महिलालाई पनि त्यस्तै आश्वासन दिएर उनले ठगी गरेको प्रहरीले जनाएको छ । खतिवडाले जाहेरवाला युवतीसँग फोनमा राजदूत बन्न पैसा बुझाउनुपर्ने भनेर बोलेको अडिओ समेत हामीलाई प्राप्त भएको छ ।

एसपी थापाका अनुसार प्रहरी परिसरमा प्राप्त भएको जाहेरी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ (१) अन्तर्गत ठगी र दफा २५३ (१) (२) बमोजिम आपराधिक लाभ लिन नहुने महलअन्तर्गतको छ । जाहेरवाली महिला अटो मोबाइल्स व्यवसायमा संलग्न रहेकी छन् । ती महिलालाई खतिवडाले राजदूत बन्नका लागि सभामुख डा.अर्याललाई ७५ लाख बुझाइसकेको र थप १ करोड बुझाउन बाँकी भएकोले रकम सापटी दिन भनेका थिए ।

चलचित्रमा पीएचडी गरेको, बूढानीलकण्ठमा हाइड्रो र होटल व्यवसाय सञ्चालनमा रहेको र आफू अविवाहित भन्दै ती युवतीसँग पनि उनी निकट भएको जाहेरवाला युवतीले बताएकीछन् । खतिवडाले आफू रास्वपा सभापति रवि लामिछाने र सभामुख डा.डीपी अर्यालसँग नजिक भएको भनेका थिए । जाहेरवाला युवतीकाअनुसार उनकै अगाडि डीपी अर्यालको फोन आउथ्यो । कुराकानी पनि गर्थे ।

जाहेरवाला युवतीकाअनुसार खतिवडाले ती व्यक्तिसँगका सम्पर्कका विभिन्न प्रमाण देखाउने गर्थे । भिआइपीसँग भेटेर फोटो खिच्ने र त्यसलाई आफ्नो प्रभाव देखाउने माध्यम बनाउँदै आएका उनले आइजिपी दानवहादुर कार्की पनि आफ्नो दाइ भन्ने गरेका थिए ।

विगत दुई महिनायता ‘केयरिङ’ गरेजस्तो व्यवहारका साथ काठमाडौंकी युवतीसँग दिनमा दुईपटक भेट्ने गरेका थिए । घरमा बुबाआमा वृद्ध भइसकेको र एउटा परिपक्व बुहारीको आवश्यकता रहेको भन्दै वैवाहिक नाता नै गाँस्ने भनेको जाहेरीमा उल्लेख छ ।

त्यसो त सामाजिक सञ्जालमा देखिने उनका तस्बिर हेर्दा उनी सामान्य व्यक्ति जस्ता देखिँदैनन् । कहिले कलाकारसँग, कहिले व्यवसायीसँग त कहिले सार्वजनिक जीवनमा चिनिएका राजनीतिक व्यक्तिसँग खिचिएका तस्बिर सामाजिक सञ्जालमा राख्ने उनको दिनचर्या जस्तै हुन्थ्यो । तर, यसको पछाडिको कारण भने सामान्य थिएन। कारण थियो – तिनै तस्बिर र सम्बन्धमार्फत आफू पहुँचवाला र प्रभावशाली व्यक्ति भएको देखाउँदै हईप्रोफाइल महिलाहरुलाई मायाजालमा फँसाउने अनि रकम अशुल्ने।

खतिवडाले सार्वजनिक गरेको त्यही छवि नयाँ सम्बन्ध बनाउने आधार बन्थ्यो।

खतिवडा पक्राउ परेपछि एकपछि अर्को गर्दै प्रहरी सम्पर्कमा पुगेका पीडितहरूका अनुसार खतिवडाले विशेषगरी उच्च सामाजिक तथा व्यावसायिक पृष्ठभूमिका युवती तथा महिलासँग सम्पर्क विस्तार गर्थे। उनीहरूको सम्पर्क सूत्र खोज्ने, सामाजिक सञ्जालबाट कुराकानी सुरु गर्ने र उनीहरूको रुचि तथा पृष्ठभूमिअनुसार सम्बन्ध अघि बढाउने गरेका थिए।

उनको दिनहुँको रुटिन अनुसार, कसैलाई बिहानै ‘गुड मर्निङ’।

कसैलाई कफीको निम्तो।

कफीको निम्तो स्वीकार गर्नेहरूसँग भेट्ने समय तय हुन्थ्यो।

पहिलो भेट सामान्य हुन्थ्यो। दोस्रो भेटसम्म आइपुग्दा कुराकानी व्यक्तिगत बन्थ्यो। त्यसपछि सुरु हुन्थ्यो विवाहको कुरा।

विवाह गर्ने आश्वासन। सँगै व्यवसाय गर्ने योजना। भविष्यका सुनौला सपना।

र जब विश्वास गहिरिँदै जान्थ्यो, कथा पैसातिर मोडिन्थ्यो।

आफू अप्ठ्यारोमा परेको, केही दिनका लागि रकम चाहिएको वा तत्काल कुनै काम मिलाउनुपर्ने भन्दै पैसा माग्ने गरेको खतिवडाबाट पीडितहरूको आरोप छ। विश्वासका आधारमा रकम दिनेहरूलाई पछि रकम फिर्ता माग्दा भने सम्पर्कबाट पन्छिने, फोन नउठाउने र उल्टै पीडितलाई नै दोषी देखाउने गरेको उनीहरूको गुनासो छ।

त्यति मात्र होइन, व्यक्तिगत सम्बन्धका क्रममा खिचिएका भनिएका गोप्य भिडियो तथा सामग्रीलाई समेत दबाबको माध्यम बनाउने गरेको पिडितको आरोप छ। पैसा फिर्ता माग्दा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याउने, समाजले महिलालाई नै दोष दिने भन्दै डर देखाउने र सामाजिक रूपमा बदनाम गरिदिने त्रास देखाउने गरेको पीडितहरूको भनाइ छ।

झट्ट हेर्दा यो कुनै फिल्मको कथा जस्तै लाग्छ। तर, यो एउटा सिनेमामा गरिएको अभिनय नभई त्यहिँ सिनेमा नाटक गर्ने एउटा ‘हिरो’ को यथार्थपूर्ण ठगी हो। कथित शैलीमा प्रेम सुरुवातको माध्यम थियो, त्यसपछि विश्वास देखाएर रकम उठाउने आधार र डर पैसा फिर्ता हुन नदिने हतियार बन्ने गरेको पीडितहरूको आरोप छ।

पीडितहरूका अनुसार खतिवडाले आफू हाइड्रोपावरको मालिक भएको, टोयोटा व्यवसायमा रहेका व्यक्तिसँग साझेदारी रहेको तथा इप्पानसँग आबद्ध रहेको बताउने गरेका थिए। विदेश पठाइदिने, व्यवसायमा साझेदारी गराउने तथा राजनीतिक पहुँच प्रयोग गरेर अवसर मिलाइदिने आश्वासनसमेत दिएर ठगी गरेको उनीहरूको भनाई छ।

खतिवडाले बेलायतमा बस्ने एक युवतीसँग विवाह गर्ने आश्वासन दिएर व्यवसाय गर्ने भन्दै ५६ लाख रुपैयाँ ठगी गरेको पाईएको छ। त्यस्तै, अमेरिकामा पठाइदिने भन्दै एक युवाबाट ५० लाख रुपैयाँ लिएको आरोप सार्वजनिक भएको छ भने छोरालाई अमेरिका पठाइदिने भन्दै अर्की महिलाबाट २० लाख रुपैयाँ लिएको आरोपसमेत छ। त्यसैगरी खतिवडाले विवाह गर्ने आश्वासन दिएर २२ लाख रुपैयाँ ठगी गरेको अर्की पिडित महिलाले बताएकी छन्। उनले पनि खतिवडाविरूद जाहेरी दिएकी छन्। त्यसमध्ये अमेरिका पठाईदिने भन्दै ५० लाख बुझाएका युवकले भने हिरासतबाट निस्केपछि रकम पाउने आश्वासन पाएकाले जाहेरी नदिएको बताएका छन्।

याे पनि… 

विवाहको प्रलोभन देखाएर २२ लाख ठगी गरेको आरोप, नायक खतिवडाविरुद्ध अर्को उजुरी

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार १३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।