नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि नयाँ ट्र्याक निर्माण गरेर सडक सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा रोकिएको काम केही दिनका लागि स्थगित गरिएको छ। यससँगै उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी एवं इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार तुइनखोलामा सडकको भीर स्थिरीकरण (स्लोप स्टाबिलाइजेसन)को काम भइरहेकाले गत भदौ २२ गतेदेखि सवारी आवागमन आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो।
कृष्णभीरको सडक सञ्चालनमा आएपछि तराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्गमा यातायात सहज बनाउन तुइनखोलाको काम अस्थायी रूपमा रोकिएको आचार्यले बताए।
‘लामो समयदेखि काठमाडौं जाने सवारीसाधन प्रभावित भएका छन्। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा समेत अवरोध हुँदा थप समस्या नहोस् भनेर केही दिनका लागि काम रोकेर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो,’ उनले भने।
उनका अनुसार यातायात आवागमन सहज भएपछि तुइनखोलामा पुनः पहिरो व्यवस्थापन तथा सडकको भीर स्थिरीकरणको काम सुरु गरिनेछ।
तुइनखोलामा काम भइरहेका बेला यसअघि बिहान ८ः३० बजेदेखि साँझ ६ बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्र सवारी आवागमन खुला गरिँदै आएको थियो। साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म भने सडकमा सवारीसाधन निरन्तर सञ्चालन हुँदै आएका थिए।
कृष्णभीरको सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा रोकिएका तथा काठमाडौं प्रवेश गर्ने क्रममा रहेका सवारीसाधनको चाप व्यवस्थापन गर्न नारायणगढ–मुग्लिन सडकलाई केही दिन पूर्ण रूपमा सञ्चालनमा राखिने सडक डिभिजनले जनाएको छ।

















प्रतिक्रिया