Logo

प्रमुख समाचार

शेखर कोइरालाले देउवालाई राजनीतिक संस्कार नभएको व्यक्तिभनेपछि…



नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । बुधबार वीरगञ्जको एक कार्यक्रममा देउवाले कोइराला परिवारप्रति खरो रुपमा उत्रिएका थिए ।बिहीबार कोइरालाले देउवा राजनीतिक संस्कार नभएको व्यक्ति भएको उनले बताए ।

‘उहाँ हाम्रो सभापति हो । मेरो उहाँलाई सम्मान छ तर उहाँ जसरी प्रस्तुत हुनुभयो त्यो उहाँको राजनीतिक संस्कार होला । मैले आफ्नो परिवारबाट त्यस्तो संस्कार लिएको छैन,’ कोइरालाले भने, ‘महाधिवेशनमा उठ्ने अधिकार त सबैलाई हुन्छ । उहाँले रोकेर रोकिन्न ।’

उनले पार्टी कमजोर भयो भन्दा कारबाही गर्छु भन्ने हो भने देउवाले आफैंलाई कारबाही सुरू गर्नुपर्ने बताए ।‘हामीलाई किन कारबाही गर्ने भन्नुभएको हो मैले बुझेको छैन, संस्कार भएका मानिसहरूलाई कारबाही गर्ने संस्कार नभएकाहरूलाई छुट दिने कांग्रेस कता जान्छ ? म राजनीतिक संस्कारमा हुर्केको मान्छे हो,’ कोइरालाले भने ।

देउवाले पार्टी कसैको बपौती नभएको उल्लेख गर्दै कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताएका थिए । नेताहरूले जथाभावी बोल्दै हिँडेकाले उनीहरूमाथि अनुशासनको कारबाही गर्ने देउवाको कथन थियो ।

‘थर कोइराला छ भन्दैमा कांग्रेस पार्टीको सभापति बन्न पाउनैपर्छ भनेर भन्न पाइन्छ,’ बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘कोइराला थर हुँदैमा सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो ।’

बीपी र गिरिजाप्रसाद कोइरालाको योगदान भए पनि उनका छोरा र भतिजाको पार्टीमा कुनै योगदान नरहेको दाबी देउवाको थियो ।‘मण्डलेहरूले मेरो टाउको फुटाउँदा, म जेल बस्दा शेखर कोइराला कहाँ थिए ?’ उनले प्रश्न गरे, ‘कुनै योगदान नै नगर्ने अनि अहिले कोइराला थर भयो भन्दैमा पार्टी सभापति बन्नुपर्ने ।’

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  २ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।