Logo

कर्पोरेट बजार

एनसेल र नाटोबीच साझेदारी, पर्यटकको दूरसञ्चार पहुँच सहज हुने



काठमाडौं। नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच समझदारी भएको छ।

नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरे।

समझदारीअनुसार एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ। नाटोले भने देशभर रहेका आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका दूरसञ्चार सेवा तथा सुविधाबारे जानकारी गराउनेछ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले एनसेलको देशव्यापी नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचबीचको सहकार्यले पर्यटकको यात्रा अनुभवमा भरपर्दो कनेक्टिभिटी थप्ने बताए।

उनले यो सहकार्यले ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्द्धन गर्नुका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।

नाटो अध्यक्ष श्रेष्ठले पर्यटन मानिस, संस्कृति र अनुभवलाई जोड्ने माध्यम भएको उल्लेख गर्दै पर्यटकलाई यात्राभर सम्पर्कमा रहन सहयोग पुर्‍याउने सहकार्य महत्त्वपूर्ण रहेको बताए।

राजमार्गमा खानेपानी र सरसफाइ पूर्वाधार

दूरसञ्चार सेवासँगै एनसेलले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत नाटोलाई प्रमुख राजमार्गमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ।

यस कार्यक्रमको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ। राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायलाई आवश्यक खानेपानी, सरसफाइ र स्वच्छता सुविधा उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको हो।

एनसेल र नाटोले उक्त सहकार्यले पर्यटकको यात्रा अनुभव सुधार गर्नुका साथै नेपालमा दिगो र जिम्मेवार पर्यटन विकासमा समेत योगदान पुग्ने बताएका छन्।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार २०:१३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।