Logo

अर्थ

स्वास्थ्य विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासकविरुद्ध २ करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा



काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रमा डा. सापकोटाले सरकारी सेवामा रहँदा आफ्नो वैधानिक आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत खुलाउन नसकेको दाबी गरेको छ।

अख्तियारका अनुसार सापकोटाको २०५२ माघ २८ देखि २०८० जेठ ३० गतेसम्मको आय–व्यय तथा सम्पत्ति विवरणमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धानबाट उक्त अवधिमा उनको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ रहेको देखिएको आयोगले जनाएको छ।

तर सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, सेयर तथा बीमा, विदेश भ्रमण, अध्ययन, सुन खरिद र बैंक मौज्दातलगायत शीर्षकमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको भनाइ छ।

वैधानिक आम्दानीको तुलनामा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बढी खर्च तथा लगानी भएको देखिएपछि उक्त रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगले जनाएको छ। अख्तियारले सो रकमलाई गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति मानेर मुद्दा दायर गरेको हो।

आयोगले सापकोटाविरुद्ध बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरेको छ। साथै, सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको आरोपमा थप सजायको माग गरिएको छ।

अख्तियारले सापकोटाकी श्रीमती निरजा पण्डितलाई पनि प्रतिवादी बनाएको छ। उनका नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।

 

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार २१:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।