Logo

प्रमुख समाचार

कांग्रेसको विरोधकाबीच सूचना प्रविधिसम्बन्धि विधेयक बहुमतले पारित



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको असहमतिकाबीच प्रतिनिधिसभाले सूचना प्रविधिसम्बन्धि विधेयक बहुमतले पारित गरेकोछ । आजको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफलपछि सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विचार गरियोस् भनि प्रस्ताव पेश गरेका थिए ।

त्यसअघि छलफलमा भागलिदै नेपाली काँग्रेसका सांसदहरुले सरकारले जनताको आवाज दबाउने गरी सुचना प्रविधिसम्बन्धि विधेयक ल्याएको भन्दै विरोध जनाएका थिए।

सांसद गगन थापाले सरकार विरोधी आवाजलाई नियन्त्रण गर्न विधेयक ल्याएको टिप्पणी गरे । उनले भने, “कुनै बेला आलोचनाबाट बच्न ज्ञानेन्द्रले फोन काटेको सम्झन्छु, तर न फोन बन्द भयो, न आलोचना गर्ने मुख बन्द भयो ।

सांसद डिला संग्रौला पन्तले प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सुचना र सञ्चारमाथि अंकुश लगाउने गरी विधेयक ल्याइएको टिप्पणी गरिन् । उनले विधेयक अधिनायवाद र सर्वसत्तावादको संकेत भएको बताउँदै संशोधन गर्न माग गरिन ।

बैठकमा सत्तारुढ दलका सांसदले विधेयकको समर्थन गर्दै सरकारको बचाउ गरेका थिए । यस क्रममा नेकपाका सांसद योगश भट्टराईले विधेयकमा व्यक्तिगत नभई फेसबुक वा टुइटर कम्पनीलाई नेपाल सरकारको कानुन मातहत ल्याउन खोजिएको बुझ्न आग्रह गरे । उनले बढ्दो सूचना प्रविधिलाई व्यवस्थित र मर्यादित बनाई आधुनिक र सभ्य बनाउन विधेयकले महत्वपुर्ण भूमिका खेल्ने बताए ।

सांसद नवराज सिलवालले सामाजिक सञ्जालले उत्पन्न गराउने समस्या समाधान गर्ने ढंगले विधेयक आएको बताए ।
सांसद महेश बस्नेतले सञ्चारलाई नियमन गर्न विधि बनाई राजश्वको दायरामा ल्याउने ढंगले विधेयक आएकाले समर्थन गरेको बताएका थिए ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  १ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।