काठमाडौं । दुबईस्थित नेपाली कन्सुलेट कार्यालयबाट मागपत्र प्रमाणीकरणमा ढिलाइ भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्षसहित पदाधिकारीले मंगलबार मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई भेटेर कन्सुलेट कार्यालयबाट मागपत्र प्रमाणीकरणका क्रममा व्यवसायीले भोग्नुपरेका समस्या र कठिनाइबारे जानकारी गराएका हुन्।
संघका अनुसार कन्सुलेट कार्यालयले तोकेको चेकलिस्टअनुसार आवश्यक सबै कागजात पूरा गरी रीतपूर्वक पेस गरिएका मागपत्रसमेत लामो समयसम्म प्रमाणीकरण नहुने समस्या देखिएको छ। यसबाट वैदेशिक रोजगार व्यवसायी तथा श्रमिक दुवैले अनावश्यक समस्या र आर्थिक भार व्यहोर्नुपरेको संघको भनाइ छ।
मागपत्र प्रमाणीकरण प्रक्रियालाई सरल, सहज र समयमै सम्पन्न हुने व्यवस्था मिलाउन संघले मन्त्रालयसँग आग्रह गरेको छ।
संघका महासचिव डाँगीले प्रमाणीकरण प्रक्रियामा पारदर्शिता कायम गर्दै अनावश्यक झन्झट र ढिलाइ अन्त्य गर्न आवश्यक पहल गरिदिन मन्त्रालयका अधिकारीसँग आग्रह गरेको बताए।
दुबई नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक भएकाले त्यहाँबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रियामा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने संघको माग छ।

















प्रतिक्रिया