Logo

राजनीति

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमा गरौँ- सचिव बस्नेत



काठमाडौं ।  नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा आज धारणा राख्दै बस्नेतले आलोचना गर्न पाइने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा पार्टीका सम्बन्धित कमिटीमा बहस गर्नुपर्ने बताए। पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिका कारण पार्टीको संस्थागत प्रतिष्ठा, कार्यकर्ताको मनोबल र जनविश्वासमा असर परेको उनको भनाइ थियो।

उनले भने, ‘पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिबारे पार्टीले स्पष्ट आचारसंहिता बनाउनुपर्छ र आवश्यकताअनुसार कारबाहीको विषय बनाउनुपर्छ।’

बस्नेतले पार्टी र नेतृत्वको रक्षा गर्नु गलत तथा नेतृत्वलाई कमजोर बनाउनु नै क्रान्तिकारी कदम हो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताए।

गलत देखिए नेतृत्वलाई सचेत गराउने, नेतृत्वलाई स्थापित गर्ने र मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्ने संस्कार नै जनवादी केन्द्रीयता र जनताको बहुदलीय जनवादको मूल भावना भएको उनको भनाइ थियो।

उनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा उठाइएका विषयलाई आवश्यक सुझाव समेटेर समृद्ध बनाउँदै पारित गर्नुपर्ने धारणा राखे। कठिन राजनीतिक परिस्थितिमा ओलीले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा विकास र समृद्धिको एजेन्डा अघि बढाएको उनले बताए।

बस्नेतले पार्टीको पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग जोड्न नहुने पनि बताए। उनका अनुसार पुनर्गठन भनेको पार्टी सुधार, संगठन सुदृढीकरण, कार्यशैलीमा सुधार र जनसम्बन्ध विस्तार हो।

उनले आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै संगठन, नीति र नेतृत्वलाई थप बलियो बनाउनुपर्ने बताए। साथै विचार मिल्ने वामपन्थी दलहरूसँग कार्यगत एकता र सहकार्य गर्दै गुमेको जनमत फिर्ता ल्याउने दिशामा अघि बढ्नुपर्ने उनको धारणा थियो।

बस्नेतले वर्तमान सरकारका कामकारबाहीविरुद्ध एमालेले जनताका मुद्दा उठाउनुपर्ने बताए। महँगी, भ्रष्टाचार र विपद् व्यवस्थापनमा देखिएका कमजोरीलाई जनतासमक्ष लैजानुपर्ने भन्दै उनले लोकतन्त्र, संविधान, विधिको शासन र जनअधिकारको रक्षाका लागि पार्टी कमिटी, नेता–कार्यकर्ता र जनसमुदायलाई संगठित गर्नुपर्ने बताए।

भोटेकोशीमा भएको विपत्तिका क्रममा खोजी, उद्धार र राहतमा खटिएका पार्टी पंक्ति, जनसंगठन तथा स्वयंसेवकलाई धन्यवाद दिँदै उनले स्थानीय कमिटीहरूले पार्टी कोषमा जम्मा गर्ने भनिएको १ करोड २० लाख रुपैयाँ र ५०० अस्थायी टहरा निर्माण गर्ने प्रतिबद्धता कार्यान्वयनमा सबैले भूमिका खेल्नुपर्ने बताए।

पार्टीभित्र रणनीति र कार्यनीतिका विषयमा बहस गर्ने सार्वभौम थलो महाधिवेशन भएको उल्लेख गर्दै बस्नेतले केन्द्रीय कमिटी बैठकमा फरक दस्तावेज प्रस्तुत गर्नेभन्दा विधान र बैठकको कार्यविधिअनुसार फरक मत राख्नुपर्ने बताए।

उनले भने, ‘रणनीति र कार्यनीतिका विषयमा बहस गर्ने सार्वभौम थलो महाधिवेशन हो। केन्द्रीय कमिटीको बैठकमा फरक दस्तावेज राख्ने होइन, निर्णयमा फरक मत भए पार्टीको विधान र बैठकको कार्यविधिअनुसार राख्नुपर्छ।’

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार १९:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।