काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना लागि राजकीय पदभन्दा देश निर्माणको जिम्मेवारी सधैं प्राथमिकतामा रहेको बताएका छन्।
बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा कुराकानी गर्दै नेपालले मुलुकको विकास र समृद्धि हुन नसक्दा आफूलाई भित्रैदेखि पीडा हुने बताए।
‘मेरो निम्ति पद कहिल्यै ठूलो कुरो भएन। मेरो प्राथमिकता सधैं काम, काम र काम मात्रै रह्यो,’ उनले भने, ‘मेरो दिमागमा जहिले पनि यो देश बनाउने हुटहुटी मात्र हुन्छ। देश बनाउने काम भएन भने मलाई भित्रैबाट पोल्छ।’
नेपालले देश बिग्रँदा राजनीतिक नेतृत्व र जिम्मेवार व्यक्तिहरू संवेदनशील बन्नुपर्ने बताए। उनले आफ्नो राजनीतिक जीवनको मूल उद्देश्य काम र त्यसबाट प्राप्त परिणामसँग जोडिएको उल्लेख गरे।
आफूले विगतमा संसद्को रोस्टमबाट ‘म यो देशमा एउटा मानिस खोजिरहेको छु’ भन्ने गीत सुनाएको प्रसंग स्मरण गर्दै नेपालले देश निर्माणका लागि इमानदार नेतृत्वको खोजी आफ्नो निरन्तरको ध्येय रहेको बताए।
व्यक्तिगत स्वार्थ, अहंकार र पदको खिचातानीमा अल्झिनुभन्दा देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न उनले राजनीतिक नेतृत्वलाई आग्रह गरे।

















प्रतिक्रिया