Logo

प्रमुख समाचार

आमालाई चिट्ठी



आमा,

जब म घरबाट बिदेश (खाडी ) जान भनी घर अगाडिको चौतारीमा बस कुर्दै थिए तब छरछिमेकीले ओइ ! त्यो र उ भन्दै बोलाएका थिए नबोलाउन पनि कसरी किनकि म संगै हरि काकाको छोरा गोरे आएल्स गरेर अस्ट्रेलिया जाँदै थियो म भने सकिनसकी १२ कक्षा सक्न नपाउदै खाडी जाँदै थिए ।

उ परिवारको साथ खादा, माला र अबिरजात्रा गरेर ट्याक्सी चड्दै थियो त म मलिन अनुहारमा केही गेडा चामलको टीका लगाएर एक्लै निस्किएको थिए केबल थियो त मसंग एउटा ! पटक सिलाएर जोडेको कालो झोला थियो । हुन त आमा तपाईंले म पनि तिमीलाई जहाज चढाउने ठाउँसम्म जान्छु भन्नू भएको थियो तर निस्ठुरी साहु आएर भोलि बिहानै रोपाइँ छ सबेरै आईजा भन्दा तपाईंले म छोरालाई बिदाई गरेर अलि अबेर आउछु भन्दा कम्ता हप्कीदप्की गरेको थियो त्यो साहु भनौदोले ।

आँखाभरी आँसु र बाध्यतालाई लुकाएर बाबू राम्रोसँग जानू , आफ्नो स्वास्थ्यको ख्याल राख्नु ,पुगेपछी एक कल गर्नु है भन्दै भक्कानिएर च्यातिएको मजेत्रोले पोखिएको आफ्नो ममतालाइ पुछ्दै साहुको मेला जानू भएको थियो । हिड्ने बेलामा तपाईंको मुख हेर्न नपाए पनि शिरमा आशीर्वाद र मनमा ममता लिएर घरबाट निस्केको थिए ।साउन महिना सिमसिम परिरहेको पानी सायद मेरै बिलौनामा झरिरहेको जस्तो लाग्थ्यो ।

बिस्तारै बिदाईको हात हल्लाउँदै हर्न बजाउदै आईरहेको गाडी नजिक पुगेर चढ्न खोजे (ओइ दाइ पछाडी गएर बस्नु अगाडि नबस्नु अरु पनि चढ्छन भन्दै खलासी भाइको रुखो बचनले अलिकति मन कुडिएको थियो सायद पल्लो गाउँको भाइले म खाडी जादैछु भन्ने थाहा पाएछ क्यारे…..!

मनमा अनेकौं कौतुहलता , कल्पना र सपना बुन्दै थिए कलङ्की आयो झर्नुस भन्दा झसङ्ग भए काठमाडौ पो आइपुगेछु । एक रातको होटेलको बाँस बस्दै एकाबिहानै मेनपावरतिर हुँइकिए । जब मेनपावर पुगे तब लाग्यो कि म कुनै देशमा बेचिन आईपुगेको छु ।मेरा केही जिज्ञासामा मेनेजर केही सुने नसुने झैँ गरिरहेको थियो ।अघिल्लो दिन सम्म एक नारायण जि सर हजुर गर्ने मेनेजर बैंकबाट पठाएको एक लाख ५० हजार रुपैयाँले बहिरो भएको थियो ।उसको अस्भाबिक व्यबहारले मन नदुखेको कहाँ हो र तर परिवारको खुसी र सुखद भबिस्यको सपना बुनेर बेचिन तयार भएको म उसले हातमा थमाईदिएको पासपोर्ट र हवाई टिकट लिएर एयरपोर्ट पुगे ।

चोरी औंलाले इसारा गर्दै ओ भाइ कुन देश जाने हौ भन्दै कर्मचारीको रुखो आवाजले मन अझै कुडिदै र हेपिएको महसुस गर्दै थिए सर म साउदी जान लागेको । त्यसो भए जा उता गएर बस लाईनमा । गोरा छाला ,खादा र अबिरजात्रा गर्ने मानिसलाई मात्र सम्मान गर्ने बानी परेका उनीहरुलाई हामी जस्ता निरीह मानिस कुनै प्राणी नै लागेन होला ! मनमा आक्रोशको ज्वालामुखी दन्के पनि सरकारले निशुल्क भनेको भिसामा मेनपावरलाई बुझाएको एक लाख ५० हजार र आमाको फाटेको मजेत्रोले सम्हालिन बाध्य भए ।करिब ५-६ घन्टाको यात्रापछि साउदीको एयरपोर्ट ओर्लिए ।१०-११ घन्टाको पट्यार लाग्दो बसाईपछि बल्ल बल्ल कम्पनीको मानिस लिन आयो ।

भोलिपल्ट अफिस गए । कामको बारेमा जानकारी गराइयो । यदि तलमाथी, भनेको नमाने पुलिस बोलाएर जेल हाली दिन्छु अनि नेपाल फर्काइ दिन्छु झन्दै झपारेको अझै झलझली सम्झिरहेको छु आमा, कामको दौरान कति हेपिए दबिए कति दुर्ब्यबहारमा परे यहाँ लेखी साध्य छैन कुनै दिन तपाईंको काखमा लुटुपुटु हुँदै पोख्नेछु । गाडी चढ्दादेखिको खलासी भाइ, मेनपावरको मान्छे र एयरपोर्टको कर्मचारीको रुखो र हेपाह व्यबहारले आफ्नै देशमा त हामी दोश्रो दर्जाको अशिक्षित मानिस भयौ भने झन बिदेशमा हाम्रो सम्मान कसले पो गर्ला आमा ? रगत पसिना बगाएर ५०-५५ डिग्रीको घाम र मरुभूमिमा भेडा चराउने म जस्तै हजारौं दाजुभाइ आफ्नै देशको एयरपोर्टमा लुटिदैछन रे । तिरस्कार हुदैछन रे । दोश्रो दर्जाका मानिस भएका छन रे ।

गोरा छाला र टाईसुटलाई सलाम गर्ने बानी परेका हाम्रा कर्मचारी दाजुभाइलाई मात्रै खै के दोष दिनु र ? तिनै युबाले खाडीमा पसिना बगाएर पठाएको पैसाले धानिएको अर्थतन्त्र र त्यही अर्थलाई दोहन गर्ने हाम्रा नेतृत्वले हामीलाई लुट्न झिटिगुण्ठा ऐनलाई कडाइ गरेका छ रे ।

आउँदा रुदै र फर्कदा रुवाउदै जानू पर्ने बाध्यताको अन्त्य कहिले होला आमा ? रुखो बोली , हेपाहा व्यबहार र चोरीका अनेकौं घटनाहरुमा सम्बन्धित निकायका जिम्मेवार मानिसहरु मौन छन रे । त्यही खाडीको युबाले पठाएको पैसाले गरिबको चुलो बलेको छ । खरको छानो फेरिएको छ । तपाईं जस्ता धेरै आमाहरुको सारी फेरिएको छ । घरमा सानो टिभी र हातमा एउटा मोबाइल पुगेको छ ।बिरामी हुँदा केही औसधि उपचार पाईएको छ ।

लक्ष्मीलाई खरबौको कर मिनाहा गर्ने सरकार, वाइडबढिमा अरबौको घोटाला गर्नेमाथी सुनपानी छर्किने सरकार , टेलिकमले द्धन्दमा गरेको करोडौं भस्ट्राचार नदेख्ने सरकार बिदेशिएका कामदारले ल्याएको २ वटा मोबाइल र १५ थान कपडामा ३कर उठाएर राज्य चलाउने सपना देख्छ रे ।

बिना तयारी र पुर्बाधार खुलेका नगरपालिका र महानगरपालिकाका करका दोहोरोतेहोरो पसल चलेका छन । नत्र देश उहिल्यै भेनेजुयला र इथोपिया हुने थियो भोकमरी र दंगा फैलिएर । तर आमा यो बास्तबिकता कसले पो बुझिदिने कसले पो सुनिदिने ।खादा र माला पहिरिएर संगै बिदेश हिडेको ३गोरे झै पुर्ख्यौली सम्पत्ति बेचेर उतै पलायन हुन सकिएन आमा ।

उतै पलायन हुन सकिएन आमा !

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  ३ : ४० बजे