Logo

समाचार

शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह



सुर्खेत । डोल्पा भ्रमणका लागि पुगेका १०२ जना पर्यटकको सुरक्षालाई लिएर जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकाय तथा सरोकारवालालाई आवश्यक सहजीकरण र सहयोग गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार असोज ८ गतेसम्म शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका १०२ जना पर्यटक जिल्लाका विभिन्न क्षेत्रमा पदयात्रामा छन् । उनीहरू हालसम्म डोल्पाबाट बाहिरिएको जानकारी प्राप्त नभएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सबै पक्षलाई सतर्क रहन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार डोल्पामा पदयात्राका लागि पुगेका पर्यटकमध्ये तीन जना नेपाली र ९९ जना विदेशी नागरिक छन् । उनीहरू शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलगायत डोल्पाका विभिन्न पर्यटकीय क्षेत्रमा भ्रमण गरिरहेका छन् ।

‘डोल्पाका विभिन्न स्थानमा पदयात्राका लागि आएका १०२ जना पर्यटक हालसम्म जिल्लाबाट बाहिरिएको जानकारी आएको छैन,’ प्रमुख जिल्ला अधिकारी हमालले भनिन्, ‘प्रतिकूल मौसमका कारण पर्यटकलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले सम्बन्धित सबैलाई आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहजीकरण गर्न आग्रह गरेका छौँ।’

हाल डोल्पामा मौसम प्रतिकूल बन्दै गएकाले उच्च हिमाली तथा पदयात्रा क्षेत्रमा रहेका पर्यटक जोखिममा पर्न सक्ने प्रशासनको भनाइ छ ।

मौसममा अचानक परिवर्तन हुँदा हिमपात, चिसो, वर्षा तथा पदमार्ग अवरुद्ध हुनेलगायतका समस्या आउन सक्ने भएकाले पर्यटकको अवस्थाबारे नियमित जानकारी लिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रशासनले जिल्लाका स्थानीय तह, सुरक्षा निकाय, पर्यटनसँग सम्बन्धित निकाय, होटल तथा व्यवसायी र स्थानीयवासीलाई पदयात्रा क्षेत्रमा रहेका पर्यटकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक परे उद्धार र सुरक्षाका लागि सहजीकरण गर्न आग्रह गरेको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाको प्रमुख पर्यटकीय गन्तव्य हो । फोक्सुण्डो ताल, शे गुम्वा, उपल्लो डोल्पाका विभिन्न हिमाली बस्ती तथा पदमार्गमा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।

मौसम प्रतिकूल बन्दै गएपछि पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा राख्ने तथा उनीहरूको अवस्थाबारे नियमित सूचना लिने कामलाई प्राथमिकता दिनुपर्ने प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार हालसम्म १०२ जना पर्यटक डोल्पाबाट बाहिरिएको विवरण प्राप्त नभएकाले उनीहरू कुन–कुन क्षेत्रमा छन् भन्ने विषयमा आवश्यक समन्वय र जानकारी लिने काम भइरहेको छ ।

प्रतिकूल मौसम लम्बिएमा पदयात्रामा रहेका पर्यटकलाई थप समस्या हुनसक्ने भएकाले सम्बन्धित निकायलाई आ–आफ्नो क्षेत्रबाट सुरक्षा तथा उद्धारमा सहयोग गर्न प्रशासनले आग्रह गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।