Logo

बैंकिङ

सरकारले भन्योः दैनिक उपभोग्य वस्तु धेरै सञ्चय नगर्नु



काठमाडौं  । सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई आवश्यकताभन्दा बढी वस्तु सञ्चय तथा भण्डारण नगर्न आग्रह गरेको हो।

मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको छ।

बाढी, पहिरो वा अन्य विपद्का कारण प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

चाडपर्व तथा विपद्को मौका छोपी बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने वा वस्तु लुकाउने प्रवृत्ति नियन्त्रणका लागि बजार अनुगमनलाई समेत सघन बनाइएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्य वृद्धि र अनुचित रूपमा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई सघन बनाइएको छ।’

 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार १९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।