Logo

प्रमुख समाचार

प्रचण्ड पुत्री रेणुको गतिविधिले पछुतायो कांग्रेस, घरभाडा ४० लाख



नेपाली कांग्रेसको काँधमा चढेर भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी तत्कालीन माओवादी केन्द्रकी नेतृ एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहालले घर भाडाबापत ठूलो रकम खर्च गर्ने गरेको खुलासा भएको छ ।मेयर दाहालले घरभाडावापत आफैले महानगरपालिकाबाट ३३ हजार ६ सय रुपियाँ बुझ्ने गरेकी छिन् । यो रकम वर्षमा ४० लाख ३२ हजार हुन आउँछ ।

यो रकममा अरु केही थप गरेर घर नै बन्न सक्छ । तर, किन हो मेयर दाहालले यति मोटो रकम घर भाडामा खर्च गर्दै आएकी छिन् भरतपुर महानगरपालिकाका बासिन्दाहरू छक्कै परेका छन् ।दाहालले पारिश्रमिक पनि पाँउछिन् । महानगरका सबै जनप्रतिनिधिहरूले महिना सकिनेवित्तिकै मोटो रकम तलव भत्ता बुझ्ने गर्छन् ।

पारिश्रमिकसँगै अन्य विभिन्न सेवा सुविधा पनि पाउँछन् । भरतपुर महानगरपालिकाका प्रमुख दाहालको मासिक पारिश्रमिक ४२ हजार रुपियाँ छ । यसमा भत्ता र अन्य सुविधा जोडिएको छैन ।त्यसबाहेक मेयरदाहाललाई सवारी साधन, इन्धन र घर भाडाको सुविधा पनि छ ।

वडा नम्बर १० मा महानगर आफैँले मासिक ३३ हजार ६०० रुपियाँ सोझै घरधनीलाई दिने गरी मेयर दाहालका लागि घर भाडामा लिएको छ ।इन्धनबापत मेयर दाहालले गत असोजमा १४ हजार, कात्तिकमा १९ हजार र मंसिरमा १२ हजार रुपियाँ लिएको महानगरपालिकाका लेखा अधिकृत षडानन्द अधिकारीले जानकारी दिएका छन् ।

तीन महिनाको अवधिमा प्रमुख दाहालले इन्धनबापत ४५ हजार रुपियाँ खर्च गरेकी छिन् । दाहालको खर्चमा मितव्ययिता गर्न नेपाली कांग्रेसले बेलाबेला आवाज उठाउँदै आएको छ ।उपमेयर पार्वती शाहले कुरा उठाउने गरेकी छिन् । तर, दाहालले सुनुवाई गरेकी छैनिन् ।

मेयर दाहालको कार्यशैली र निरंकुशताविरुद्ध गत मंगलबार उपमेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले २५औँ कार्यपालिका बैठक बहिष्कार गरेका छन् ।उपमेयर शाहको असन्तुष्टि कर्मचारीले जनप्रतिनिधिलाई नटेरेको, मेयर दाहालले पेलेर जाने गरेको र आफूलाई म्यासेन्जरमा धम्की आउँदा पनि मेयर दाहालले चासो नदिएको आरोप छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले आफूलाई नटेर्ने गरेको उपमेयर शाहको अरोप छ । सुवेदीले मेयर दाहालको चाकडी गर्नमै दिन कटाउने गर्दा भरतपुर महानरपालिकाका सेवाग्राहीहरू मर्कामा परेको गुनासो बढ्दै गएको छ ।
आफूलाई मेयर दाहालकै अगाडि झर्केर बोल्दा पनि दाहालले समस्या समाधानका लागि कुनै पहल नगरेको शाहको आरोप छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार  ६ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।