केहि समय अघि भंग भएको नैनसिंह महर नेतृत्वको नेपाल बिद्यार्थी संघमा तदर्थ समितिको अध्यक्षमा आधा दर्जनभन्दा बढि नेताहरु दौडमा जुटेका छन् । नेविसंघ अध्यक्षको दौडमा वर्तमान र पूर्व नेताहरु मात्र छैनन, नगरपालिकाकी एक उपमेयर पनि दौडमा रहेकी छिन् । अछाम पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर हुन अम्बिका चलाउने ।
उपमेयर अम्बिका चलाउने यतिबेला नेविसंघको अध्यक्ष बन्ने धुनमा बुढानीलकण्ठ धाइरहेकी छिन् । २०६३ सालदेखि नेपाल बिद्यार्थी संघमा सक्रिय राजनीति थालेकी चलाउने ११ औ महाधिबेशनबाट सहमहामन्त्री बनेकी थिइन ।
सहमहामन्त्री भएकै बेला उनी स्थानीय निर्वाचनमा उम्मेद्धार बनिन् । उपमेयरमा बिजयी भएपनि उनको आकांक्षा भने नेपाल बिद्यार्थी संघमै रहेको छ । पार्टीभित्र देउवा खेमामा रहँदै आएकी अम्बिका नेविसंघको अध्यक्ष पदमा दावी गर्दै नेताको दैलोमा पुग्न थालेकी छिन् ।
उनी तदर्थमा मात्र हैन, महाधिबेशन भएपनि अध्यक्ष पदमा भिड्ने तयारी गरेकी थिइन । तर महर नेतृत्वको कार्यसमितिले महाधिबेशन गर्न नसक्दा उनी तदर्थ अध्यक्ष बन्ने धुनमा लागेकी छिन् ।
नेविसंघको तदर्थ अध्यक्षमा ऋषिकेश जंग शाह, मनोजमणि आचार्य, राजिव ढुंगाना, कृष्णकुमारी बस्नेत, सरोज थापा, प्रेम राज जोशी, प्रकाश घिमिरे र अम्विका चलाउनेले दावी गरिरहेका छन् । यी दावेदार मध्ये सवैभन्दा बढि दौड अम्बिकाले लगाएकी छिन् । पार्टी सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवालाई रिझाउन उनी दैनिक बुढानीलकण्ठमा विहानै पुग्ने गरेकी छिन् ।
प्रतिक्रिया