चितवन । लगातारको वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड पहिरोका कारण अवरुद्ध भएका छन्। दुवै सडक बिहीबार साँझ ८ बजेदेखि अवरुद्ध भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडकका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेकाले यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भएको छ।
अवरुद्ध सडकमा रोकिएका पोखरातर्फ जाने तथा नारायणगढतर्फ आउने सवारीसाधनलाई शुक्रबार दिउँसो एकतर्फी रूपमा सडक खुलाएर पार गराइएको प्रहरीले जनाएको छ।
तर, सडकका विभिन्न स्थानमा ढुंगा र लेदोसहितको पहिरो खस्ने क्रम नरोकिएकाले यातायात नियमित हुन सकेको छैन। सडक अवरुद्ध भएपछि बिहीबारदेखि आएका धेरै सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।


















प्रतिक्रिया