काठमाडौं । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ स्थित तालगाउँ फेरि डुबानमा परेको छ। २०७८ सालको बाढीले क्षति पुर्याएको गाउँको पुनर्निर्माण केही समयअघि मात्रै सकिएको थियो।
स्थानीय अगुवा राजन गुरुङका अनुसार नदीको बहाव बढेसँगै गाउँ जलमग्न भएको हो। नदीको बहाव डाँडामा थुनिएपछि तालगाउँ डुबानमा परेको उनले बताए।
बाढी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिणतर्फका सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक सम्पर्क टुटेपछि स्थानीयवासी गाउँमै थुनिएका छन्। उनीहरू सामूहिक रूपमा स्थानीय स्वास्थ्य चौकीको भवनमा बसेका छन्।
बाढीका कारण विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको छ। जिल्लामा टेलिफोन सम्पर्कसमेत प्रभावित भएपछि तालगाउँभन्दा माथिल्लो क्षेत्रमा बाढी र पहिरोको अवस्थाबारे थप जानकारी लिन कठिनाइ भएको स्थानीयले बताएका छन्।
यसैबीच मर्स्याङ्दी नदीको बहाव अझै बढिरहेको र नदीको प्राकृतिक बहावमा अवरोध देखिएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।



















प्रतिक्रिया