काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधनलाई तीव्रता दिएको छ।
गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालका अनुसार प्रविष्ट गरिएको तथ्यांकमा देखिएका त्रुटि, दोहोरिएका विवरण र नमिलेका अंक सच्याउँदै तथ्यांकको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ।
आर्थिक गणनामा देशभरका करिब १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका छन्। गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन भएको गणनाबाट संकलित विवरणलाई विभिन्न चरणमा प्रशोधन गरिँदैछ।
ढकालका अनुसार प्रतिष्ठानको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रलगायत अन्तर्राष्ट्रिय वा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिनेछ। कागजी तथा डिजिटल फारमबाट प्राप्त विवरणलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने कामसमेत जारी छ।
हालसम्म करिब दुई लाख प्रतिष्ठानको तथ्यांक प्रविष्ट भइसकेको छ भने करिब ६ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न भएको कार्यालयले जनाएको छ।
आर्थिक गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था र अन्य व्यापारसम्बन्धी प्रतिष्ठानको विवरण समेटिएको छ।
तथ्यांक प्रविष्टि र अन्य प्रशोधन कार्यका लागि करिब दुई सय जनशक्ति परिचालन गरिएको छ। प्रशोधनपछि तयार हुने प्रतिवेदनले देशको आर्थिक गतिविधि, व्यवसायको अवस्था र आर्थिक विकाससम्बन्धी नीति निर्माणका लागि आवश्यक तथ्यांक उपलब्ध गराउने कार्यालयको अपेक्षा छ।



















प्रतिक्रिया