काठमाडौं । नेपाली कांग्रेसका नेता एवं उद्योगी विनोद चौधरी १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट चौधरी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
उनीसँगै मधेसी क्लस्टरतर्फ प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। सर्वसम्मत हुन नसकेका पदमा सोमबार निर्वाचन भएको थियो। खुलातर्फ भने ७५ जनाको उम्मेदवारी परेको थियो।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा चौधरी यही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित भएका थिए। त्यसअघि गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनमा पनि चौधरी सहभागी भएका थिए।
चौधरी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उक्त महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा भएको थियो।



















प्रतिक्रिया