Logo

अर्थ

पूँजी बजारलाई आधुनिक बनाउन नयाँ धितोपत्र विधेयक ल्याउन अर्थ समितिको निर्देशन



काठमाडौं । अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले नेपालको पूँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।

बुधबार बसेको अर्थ समिति बैठकमा बोल्दै उनले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनसँगै लगानीकर्ताको हित संरक्षण हुने गरी नयाँ धितोपत्रसम्बन्धी विधेयक तयार गर्नुपर्ने बताएका हुन् ।

सभापति बुढाथोकीले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भूमिका, जिम्मेवारी तथा जवाफदेहिता स्पष्ट हुने गरी नयाँ विधेयक तर्जुमा गरेर संघीय संसद्मा तत्काल प्रस्तुत गर्न अर्थ मन्त्रालय र सेबोनलाई निर्देशन दिनुपर्ने बताए ।

बैठकमा कम्पनीहरूले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दा कम्पनीको अवस्था, पूर्वाधार, नेटवर्क, प्रतिफललगायतका आधारमा वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

त्यसैगरी, आईपीओ निष्कासनका क्रममा संस्थापकले धारण गर्नुपर्ने सेयरसम्बन्धी व्यवस्थाको समेत पुनरावलोकन गर्न सेबोनलाई निर्देशन दिने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १३:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।