Logo

अन्तर्राष्ट्रिय

कतार र इजिप्टबीच क्षेत्रीय तनाव कम गर्ने प्रयासबारे छलफल



काठमाडौं । क्षेत्रीय तनाव कम गर्दै सुरक्षा र स्थिरता कायम गर्न कतार र इजिप्टले संयुक्त कूटनीतिक प्रयास अघि बढाउने विषयमा छलफल गरेका छन्।

कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानी र इजिप्टका परराष्ट्रमन्त्री बद्र अब्देलत्तीबीच बुधबार भएको टेलिफोन संवादमा पछिल्लो क्षेत्रीय घटनाक्रम र तनाव न्यूनीकरणका प्रयासबारे छलफल भएको कतारको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वार्तामा दुई देशबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने उपायबारे पनि छलफल भएको थियो।

शेख मोहम्मदले समुद्री यातायातको स्वतन्त्रता सुनिश्चित गर्दै क्षेत्रमा दिगो शान्ति कायम गर्ने उद्देश्यसहित कूटनीतिक समाधान खोज्ने प्रयासप्रति कतारको समर्थन दोहोर्‍याएका थिए।

इजिप्टका परराष्ट्रमन्त्री अब्देलत्तीले पनि सामाजिक सञ्जाल एक्समार्फत शेख मोहम्मदसँग ‘क्षेत्रीय तनाव कम गर्ने निरन्तर प्रयास’बारे छलफल भएको बताएका छन्।

कतार र इजिप्ट दुवै क्षेत्रीय संकट समाधानका लागि मध्यस्थकर्ताको भूमिकामा सक्रिय रहँदै आएका छन्। पछिल्लो समय समुद्री यातायातमा समेत असर पार्ने क्षेत्रीय तनाव कम गर्न दुवै देशले कूटनीतिक पहललाई निरन्तरता दिइरहेका छन्।

 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार २१:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।