Logo

राजनीति

कांग्रेस काठमाडौं क्षेत्र नं. २ द्वारा शपथ तथा चियापान समारोहको तयारी पूरा, महामन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहने



काठमाडाैं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ ले १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण, बधाई तथा शुभकामना आदानप्रदान एवं बृहत् चियापान समारोह आयोजना गर्ने भएको छ। असोज १७ गते शनिबार कागेश्वरी मनोहरा नगरपालिका–५, थली चौरमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ।

बिहान ७:४५ बजेबाट सुरु हुने समारोहमा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री तथा सांसद प्रदीप पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कांग्रेस नेता राजन केसी र काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँको विशिष्ट आतिथ्यता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा कुन–कुन कमिटीका पदाधिकारी गर्दै छन् शपथ?

समारोहमा १५औँ महाधिवेशनबाट निर्वाचित काठमाडौं क्षेत्र नं. २ को क्षेत्रीय समिति, शङ्खरापुर नगरपालिका समिति, कागेश्वरी मनोहरा नगरपालिका समिति तथा क्षेत्रअन्तर्गतका सम्पूर्ण वडा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्नेछन्।

कार्यक्रममा कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति तथा प्रतिनिधि, विभिन्न भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी, क्रियाशील सदस्य तथा पार्टीका शुभचिन्तकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

क्षेत्र नं. २ का सभापति कबिर शर्माले १५औँ महाधिवेशनबाट प्राप्त नयाँ ऊर्जा, नेतृत्व र संकल्पलाई संगठनको एकता तथा जनताको विश्वाससँग जोड्दै अघि बढ्ने उद्देश्यले समारोह आयोजना गरिएको बताएका छन्।

उनका अनुसार पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध, गतिशील र जनउत्तरदायी बनाउँदै लोकतान्त्रिक मूल्य, आपसी सद्भाव र सहकार्यका माध्यमबाट समुन्नत नेपाल निर्माण गर्ने साझा संकल्पलाई कार्यक्रमले थप बलियो बनाउनेछ।

सभापति शर्माले समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन कांग्रेसका नेता, कार्यकर्ता, अग्रज, शुभचिन्तक तथा आमन्त्रित सबैमा आग्रह गरेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार १३:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।