Logo

मनोरञ्जन

‘चमेलीको पोइ’ हेर्न बसेपछि अढाइ घण्टा वितेको पत्तो हुँदैन: निर्माता उपाध्याय



काठमाडौं । सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ यही असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभर प्रदर्शनमा आउँदैछ । हास्यप्रधान तथा पारिवारिक कथावस्तुमा निर्माण गरिएको चलचित्रमा मुकुन भुसाल र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

धनलक्ष्मी सिने मेक्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् । चलचित्रमा नारायण त्रिपाठी, विल्सनविक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई, उमेश राई (फुलन्देको आमा) तथा खड्कबहादुर पुनमगर (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र निर्माणमा पहिलोपटक सहभागि भएका निर्माता रामनारायण उपाध्यायले ‘चमेलीको पोइ’को प्रदर्शनलाई लिएर आफू उत्साहित रहेको बताए । उनका अनुसार चलचित्र निर्माणको सुरुदेखि नै निर्देशक तथा टीमसँग नजिक रहेर काम गरेकाले निर्माण प्रक्रिया उनका लागि नयाँ भए पनि सकारात्मक अनुभव बनेको छ ।

उनले भने, ‘म एकदम एक्साइटेड छु, फिल्म निर्माण पहिलो पटक हो । एकदम राम्रो अनुभव लिएको छु ।’

इन्जिनियरिङ पृष्ठभूमिका उपाध्यायका लागि चलचित्र निर्माण प्राविधिक हिसाबले नयाँ क्षेत्र भएपनि परियोजना व्यवस्थापनको अनुभवले काम गर्न सहज भएको उनको भनाइ छ । चलचित्र निर्माणका क्रममा क्यामरा, लोकेसन छनोट, कलाकार चयन, स्क्रिप्ट तथा सुटिङ प्रक्रियाजस्ता विषय उनका लागि नयाँ अनुभव बने ।

उनले भने, ‘म इन्जिनियर हुँ । कुनै प्रोजेक्टका लागि मेटेरियल प्रोक्योरमेन्ट, प्लानिङ, मनीलगायतका विषय हुन्छन । फिल्म क्षेत्रमा टेक्निकल कुरा मलाई थाहा थिएन, जुन सुटिङको क्रममा सिक्दै गएँ ।’

उपाध्यायका अनुसार उनकी पत्नी तथा चलचित्रकी सहनिर्माता सुनीता सापकोटासँग नेपालमा चलचित्र निर्माण गर्ने पहिलेदेखिको इच्छा थियो । निर्देशक सूर्य बोहरासँग करिब १५–२० वर्ष पुरानो पारिवारिक सम्बन्ध रहेको र बोहराले सुनाएको स्क्रिप्टपछि चलचित्र निर्माणको योजना अघि बढेको उनले बताए ।

सूर्य बोहराले ‘कान्छी’, ‘ठूली’ र ‘अग्निपरीक्षा’ लगायतका चलचित्र निर्देशन गरिसकेको स्मरण गर्दै उपाध्यायले निर्देशकप्रतिको विश्वासका कारण पनि परियोजना अघि बढेको बताए ।

चलचित्रको कथावस्तु पारिवारिक सम्बन्ध, घरेलु झगडा तथा हास्य घटनाक्रममा आधारित रहेको निर्माण पक्षको भनाइ छ । पति–पत्नीबीच हुने सामान्य विवाद, पारिवारिक परिस्थितिमा उत्पन्न हुने हास्य तथा भावनात्मक घटनालाई कथाको आधार बनाइएको छ ।

उपाध्यायले अहिले नेपाली चलचित्रको संख्या बढेसँगै दर्शक पनि छनोटमा सचेत भएको बताए । त्यसैले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक रूपमा जोड्ने प्रयास चलचित्रमा गरिएको उनको भनाइ छ ।

उनले भने, ‘पहिले फिल्म कम बन्थे, फिल्म हेर्न दर्शकहरू मजबुर हुन्थे । अहिले धेरै फिल्म बन्नथाले, दर्शकहरू पनि चुजी भए । तर कमेडी जनराको फिल्म नयाँ स्वादमा रहेकाले सबैखाले दर्शक हलमा पुग्नेछन् । कमेडी, इमोसन र एउटा पारिवारिक शिक्षामुलक फिल्म भएकाले धेरैले रुचाउनेछन् ।’

‘चमेलीको पोइ’ कमेडी विधामा केन्द्रित भए पनि पारिवारिक विषयवस्तुलाई प्राथमिकतामा राखिएको निर्माण पक्षले जनाएको छ । उपाध्यायका अनुसार चलचित्रमा दर्शकले आफ्नो घरपरिवारमा देख्ने तथा भोग्ने सामान्य घटनालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा नारायण त्रिपाठीको सहभागिताबारे पनि उपाध्यायले निर्देशक सूर्य बोहरासँग रहेको पुरानो सम्बन्धलाई मुख्य कारणका रूपमा प्रस्तुत गरे । बोहराले स्क्रिप्टमा रहेको एउटा भूमिकाका लागि त्रिपाठी उपयुक्त हुने बताउँदै आएको र स्क्रिप्ट तयार भएपछि उनलाई प्रस्ताव गरिएको उनले जानकारी दिए । त्यसपछि त्रिपाठीले भूमिका स्वीकार गरेर चलचित्रमा काम गरेको उनको भनाइ छ ।

उनका अनुसार ‘चमेलीको पोइ’का केही प्रदर्शन अमेरिकामा समेत भइसकेका छन् । अमेरिकामा चार–पाँचवटा शो भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उपाध्यायले बताए ।

चलचित्र निर्माणमा कम बजेट र सक्षम निर्देशकको भूमिकाबारे पनि उपाध्यायले आफ्नो अनुभव सुनाए। उनका अनुसार राम्रो स्क्रिप्ट, उपयुक्त निर्देशक र कलाकार छनोटले चलचित्र निर्माणलाई व्यवस्थित बनाउन सहयोग गर्छ ।

दर्शकलाई चलचित्र हलसम्म आएर हेर्न आग्रह गर्दै उपाध्यायले आफूहरूले मेहनत गरेर नयाँ शैलीको कमेडी फिल्म निर्माण गरेको बताए ।

उनले भने, ‘हामीहरूले धेरै मेहनत गरेर फरक कमेडी जनराको फिल्म बनाएका छौँ । असोज १६ गते हलमा पुगेर हेरिदिनुहोला, सपोर्ट, माया गरिदिनुहोला । राम्रो भएमा ताली पिट्नुस्, नराम्रो भए पनि प्रतिक्रिया दिनुहोला । तर अढाई घन्टा वितेको पत्तो हुनेछैन् ।’

निर्माण पक्षले ‘चमेलीको पोइ’ पछि नयाँ चलचित्रका लागि पनि तयारी अघि बढिरहेको जनाएको छ । उपाध्यायका अनुसार नयाँ परियोजनाका लागि एक–दुईवटा विषय अन्तिम चरणमा पुगेका छन् । ती विषय टुंगो लागेपछि छिट्टै घोषणा गरिने उनले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार १६:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।