गणेश नेपालीको घटनामा खसेका आँसु अर्जुन दोङको घटनामा किन देखिएनन्, गृहमन्त्रीज्यू?
घटना एउटै सहरको। स्थान पनि उही त्रिपुरेश्वर। प्रकृति पनि उस्तै। दुवै नागरिकको जीवन संकटमा परेको अवस्था। तर राज्यको जिम्मेवार पदमा पुगेपछि देखाइने संवेदना र व्यवहारमा फरक किन देखियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।
२०८३ असार २५ गते त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाले गम्भीर रूप लिएको थियो। त्यसबेला हालका गृहमन्त्री सुधन गुरुङ घाइते गणेशको अवस्था बुझ्न वीर अस्पताल पुगेको, परिवारलाई आश्वासन दिएको र उपचारका लागि भारत लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेको विवरण सार्वजनिक भएको थियो। तर गणेशको त्यही रात निधन भयो। त्यसपछि संसद्मा समेत उक्त घटनाबारे बोल्दै गुरुङ भावुक बनेका थिए।
तर केही महिनापछि त्यही त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि मकवानपुरका अर्जुन दोङ लामाले पनि आत्मदाहको प्रयास गरे। उनलाई कीर्तिपुर अस्पताल पुर्याइयो। उनी अस्पतालको शय्यामा जीवनसँग संघर्ष गरिरहेका बेला राज्यको जिम्मेवार प्रतिनिधिको उपस्थिति भने देखिएन भन्ने प्रश्न उठेको छ।
यहीँबाट प्रश्न सुरु हुन्छ—एउटा नागरिकको पीडामा तत्काल अस्पताल पुग्ने संवेदना अर्को नागरिकको पीडामा किन देखिएन?
गणेश गरिब थिए। अर्जुन पनि गरिब परिवारका हुन्। गणेश नेपाली नागरिक थिए, अर्जुन पनि नेपाली नागरिक नै हुन्। नागरिकको आर्थिक अवस्था, पहुँच वा परिचयका आधारमा राज्यको संवेदना फरक हुन मिल्छ?
मन्त्रीको लोकप्रियता क्यामेराको अगाडि देखिने आँसुबाट होइन, संकटमा परेका नागरिकप्रतिको व्यवहारबाट मापन हुन्छ। राज्यको संवेदना भाषणमा होइन, आवश्यक परेको बेला नागरिकको साथमा उभिँदा देखिन्छ।
गणेशको पीडा गम्भीर थियो भने अर्जुनको पीडा कम थिएन। एउटा घटनाले मन्त्रीलाई अस्पताल पुर्यायो भने अर्को घटनामा त्यही तत्परता किन देखिएन भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्छ।
राज्यको जिम्मेवारी सबै नागरिकप्रति समान हुनुपर्छ। कसैको पीडामा आँसु झर्ने र कसैको पीडामा मौन रहने अवस्था सिर्जना भयो भने त्यसले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउँछ।
गृहमन्त्रीज्यू, प्रश्न सरल छ—अर्जुन दोङ नेपाली नागरिक होइनन्? उनको जीवनको मूल्य कम हो?
हामीलाई कसैको आँसुको राजनीति चाहिएको होइन। चाहिएको छ—संकटमा परेका हरेक नागरिकप्रति समान व्यवहार, समान सम्मान र समान राज्यीय जिम्मेवारी।
गणेश नेपाली हुन् वा अर्जुन दोङ—जीवनको मूल्य एउटै हो। राज्यको संवेदना पनि एउटै हुनुपर्छ।
अजय सोडारी जेन्जी अभियन्ता हुन् ।



















प्रतिक्रिया