विश्व अटोमोबाइल बजार अहिले तीव्र रूपान्तरणको चरणमा छ। पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको विकल्पका रूपमा विद्युतीय सवारीसाधन (ईभी) विस्तार भइरहेका छन्। नेपाल पनि यो परिवर्तनबाट अलग छैन। बरु सीमित बजार भए पनि नेपालमा ईभीको प्रवेश र प्रयोगको गति उल्लेखनीय देखिएको छ।
नेपालमा ईभीको लोकप्रियता बढ्नुमा वातावरणीय चेतना र नयाँ प्रविधिप्रतिको आकर्षण मात्र कारण होइन। मूल्य संरचना पनि यसको महत्वपूर्ण आधार हो। कर नीतिका कारण कतिपय अवस्थामा ईभी परम्परागत इन्धन गाडीको तुलनामा प्रतिस्पर्धी मूल्यमा उपलब्ध भए। त्यसैले नेपाली उपभोक्ताले नयाँ प्रविधिलाई छिटो स्वीकार गरे।
तर यही परिवर्तनले नेपाली अटोमोबाइल बजारमा नयाँ प्रश्न पनि खडा गरेको छ। बजार विद्युतीय सवारीतर्फ तीव्र रूपमा मोडिँदै गर्दा त्यसलाई धान्ने पूर्वाधार, दक्ष प्राविधिक जनशक्ति, बिक्रीपछिको सेवा र सुरक्षा प्रणाली भने त्यही गतिमा विकास भएका छन् कि छैनन् भन्ने प्रश्न महत्वपूर्ण छ।
एसेम्बली उद्योग : जोड्ने काम मात्रै होइन
नेपालमा सवारीसाधनको एसेम्बली सुरु हुनु औद्योगिक विकासका दृष्टिले महत्वपूर्ण कदम हो। तर एसेम्बलीलाई बाहिरबाट पार्टपुर्जा ल्याएर गाडी जोड्ने सामान्य प्रक्रियाका रूपमा बुझ्ने प्रवृत्ति अझै छ। वास्तवमा एउटा सवारीसाधनलाई निश्चित मापदण्डअनुसार एसेम्बल गर्न गुणस्तर नियन्त्रण, परीक्षण, जनशक्ति, प्रविधि र लगानी आवश्यक हुन्छ।
नेपालमा हुन्डाईका केही मोडलको एसेम्बली सुरु हुनु यसै दिशाको एउटा सुरुवात हो। यसले तत्कालै पूर्ण सवारीसाधन उत्पादनको तह हासिल नगरे पनि स्थानीय रोजगारी, प्राविधिक सीप र औद्योगिक अनुभव विकास गर्ने आधार तयार गर्छ।
विश्वका धेरै मुलुकमा पनि सवारीसाधन उद्योगको विकास एसेम्बलीबाटै अघि बढेको देखिन्छ। सुरुमा आयातित कम्पोनेन्टमा निर्भर भए पनि क्रमशः स्थानीय मूल्य अभिवृद्धि बढाउँदै लैजाने अभ्यास छ। नेपालमा पनि एसेम्बलीलाई त्यही दीर्घकालीन दृष्टिकोणबाट हेर्न आवश्यक छ।
तर त्यसका लागि उद्योग र आयातबीचको कर संरचना तथा नीतिगत व्यवहार स्पष्ट र दीर्घकालीन हुनुपर्छ। नेपालमै उत्पादन गर्दा आयातभन्दा लागत बढी पर्ने अवस्था रहिरह्यो भने उद्योगले प्रतिस्पर्धा गर्न सक्दैन। त्यसैले उद्योगलाई सुविधा दिने विषयलाई केवल व्यवसायीलाई छुट दिने रूपमा होइन, रोजगारी, प्रविधि हस्तान्तरण र स्थानीय अर्थतन्त्रमा हुने योगदानसँग जोडेर हेर्नुपर्छ।
ईभीमा मूल्य मात्रै पर्याप्त छैन
नेपाली बजारमा ईभीको चर्चा हुँदा ब्याट्री क्षमता, रेन्ज र मूल्य मुख्य विषय बन्ने गरेका छन्। उपभोक्ताका लागि यी महत्वपूर्ण विषय हुन्। तर विद्युतीय सवारीको वास्तविक मूल्यांकन यतिमै सीमित हुनु हुँदैन।
एउटै प्रकारको लिथियम–आयन ब्याट्री भए पनि त्यसको गुणस्तर, डिजाइन, व्यवस्थापन प्रणाली, सुरक्षा प्रविधि र प्रयोग गरिएको सामग्री फरक हुन सक्छ। ब्याट्रीको क्षमता एउटै हुनु र ब्याट्री प्रणालीको गुणस्तर एउटै हुनु समान कुरा होइन।
ईभीमा ब्याट्री व्यवस्थापन प्रणाली, ताप नियन्त्रण, चार्जिङ प्रणाली, सुरक्षा प्रणाली र दुर्घटनापछि काम गर्ने ‘फेल–सेफ’ प्रविधि महत्वपूर्ण हुन्छन्। यीमध्ये धेरै कुरा उपभोक्ताले गाडी खरिद गर्दा प्रत्यक्ष देख्दैनन्। तर दुर्घटना वा असामान्य अवस्थामा तिनको महत्व देखिन्छ।
त्यसैले ईभीलाई केवल सस्तो वा महँगो, धेरै वा कम रेन्ज भएको आधारमा तुलना गर्ने प्रवृत्तिबाट माथि उठ्न आवश्यक छ। गाडीको समग्र इन्जिनियरिङ, सुरक्षा, विश्वसनीयता, बिक्रीपछिको सेवा र दीर्घकालीन सञ्चालन खर्चलाई पनि मूल्यांकनको आधार बनाउनुपर्छ।
आगलागीका घटनाले दिएको पाठ
पछिल्ला केही घटनापछि ईभीको सुरक्षालाई लिएर उपभोक्तामा प्रश्न उठेका छन्। विद्युतीय सवारीमा आगलागी हुन सक्छ कि सक्दैन भन्ने प्रश्नभन्दा पनि आगलागी किन हुन्छ, दुर्घटनापछि के गर्नुपर्छ र जोखिम कसरी घटाउन सकिन्छ भन्ने विषयमा सार्वजनिक जानकारी आवश्यक छ।
ईभी दुर्घटनामा परेपछि ब्याट्रीमा क्षति पुगेको हुनसक्छ। त्यस्तो अवस्थामा सामान्य अवस्थाजस्तै गाडी चलाइरहनु जोखिमपूर्ण हुन सक्छ। ब्याट्री, तापक्रम, चार्जिङ प्रणाली र दुर्घटनापछि अपनाउनुपर्ने प्रक्रियाबारे उपभोक्तालाई जानकारी दिनु आवश्यक छ।
त्यस्तै, ईभीमा आगलागी वा विद्युतीय प्रणालीमा समस्या आउँदा ढोका नखुल्ने विषय पनि बहसमा आएको छ। सबै गाडीमा एउटै प्रणाली हुँदैन। धेरै आधुनिक सवारीमा इलेक्ट्रोनिक प्रणालीसँगै आपत्कालीन अवस्थामा प्रयोग गर्न मिल्ने म्यानुअल व्यवस्था पनि राखिएको हुन्छ। त्यसैले एउटा मोडल वा एउटा घटनाका आधारमा सबै ईभीलाई एउटै दृष्टिले हेर्नु उचित हुँदैन।
तर यस्ता विषयमा कम्पनीहरूले उपभोक्तालाई पर्याप्त जानकारी दिनुपर्छ। गाडी कसरी सञ्चालन गर्ने भन्ने मात्र होइन, दुर्घटना हुँदा के गर्ने, चार्जिङका क्रममा असामान्य अवस्था देखिएमा के गर्ने र आपत्कालीन अवस्थामा वैकल्पिक प्रणाली कसरी प्रयोग गर्ने भन्ने जानकारी पनि बिक्रीसँगै दिनुपर्ने हुन्छ।
ईभीभन्दा अगाडि दौडिरहेको बजार
नेपालमा ईभीको प्रयोग तीव्र गतिमा बढेको छ। तर त्यसअनुसार प्राविधिक इकोसिस्टम विकास भएको छ कि छैन भन्ने प्रश्न अझ गम्भीर छ।
परम्परागत गाडी मर्मत गर्ने मेकानिकले इन्जिन, गियरबक्स र अन्य मेकानिकल प्रणालीमा काम गर्दै आएका छन्। ईभीमा भने इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम, ब्याट्री व्यवस्थापन, मोटर, सेन्सर र विभिन्न विद्युतीय कम्पोनेन्टको ज्ञान आवश्यक हुन्छ।
गाडीको संख्या बढ्दै जाने तर दक्ष प्राविधिक जनशक्ति नबढ्ने हो भने समस्या उपभोक्ताकै तहमा पुग्छ। सामान्य समस्या पहिचान गर्न नसक्दा ठूलो कम्पोनेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसले मर्मत खर्च बढाउँछ र उपभोक्ताको विश्वास पनि कमजोर पार्न सक्छ।
त्यसैले ईभीको बिक्री बढाउनेभन्दा पहिले वा सँगसँगै प्राविधिक जनशक्ति, चार्जिङ पूर्वाधार, स्पेयर पार्ट्स, परीक्षण सुविधा र बिक्रीपछिको सेवा विस्तार गर्नुपर्ने हुन्छ।
नेपालमै ईभी उत्पादनको सम्भावना
नेपालमा आईसी इन्जिनका सवारीसाधनको एसेम्बली सुरु भइसकेको अवस्थामा विद्युतीय सवारीको उत्पादनतर्फ पनि सम्भावना खोज्न सकिन्छ। तर त्यसका लागि नीतिगत स्पष्टता आवश्यक छ।
नेपालमै एसेम्बल गर्दा आयातभन्दा लागत बढी पर्ने अवस्था भए उद्योगलाई प्रतिस्पर्धी बनाउन कठिन हुन्छ। ईभीलाई प्रवर्द्धन गर्ने नीति बनाउँदा आयातमा सुविधा दिने मात्र होइन, नेपालभित्र उत्पादन गर्ने उद्योगलाई पनि दीर्घकालीन रूपमा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा सोच्नुपर्छ।
सरकारले कुन चरणमा कस्तो सुविधा दिने, स्थानीय मूल्य अभिवृद्धि कति हुनुपर्ने र उद्योगले कति रोजगारी तथा प्रविधि हस्तान्तरण गर्नुपर्ने भन्ने स्पष्ट मापदण्ड बनाउन सक्छ। यसले सुविधा र लगानीबीचको सम्बन्ध पनि स्पष्ट पार्छ।
नीतिको स्थिरता सबैभन्दा महत्वपूर्ण
अटोमोबाइल उद्योग दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्र हो। एउटा प्लान्ट स्थापना गर्न ठूलो लगानी, प्रविधि, जनशक्ति र समय आवश्यक हुन्छ। यस्तो अवस्थामा हरेक वर्ष कर तथा नीतिमा ठूलो परिवर्तन भइरहने हो भने लगानीकर्ताले दीर्घकालीन योजना बनाउन सक्दैनन्।
ईभीलाई प्रोत्साहन गर्नु आवश्यक हुन सक्छ, तर त्यससँगै परम्परागत सवारी, एसेम्बली उद्योग र सम्भावित स्वदेशी उत्पादनलाई पनि दीर्घकालीन दृष्टिले हेर्नुपर्छ। एउटा प्रविधिलाई आज ठूलो सुविधा दिने र अर्को वर्ष अर्को प्रविधिका लागि नीति परिवर्तन गर्ने शैलीले बजारमा अस्थिरता ल्याउन सक्छ।
नेपालको अटोमोबाइल क्षेत्रको चुनौती प्रविधि परिवर्तन मात्र होइन। सानो बजार, उच्च आयात निर्भरता, सीमित प्राविधिक जनशक्ति, कमजोर स्थानीय उत्पादन, बिक्रीपछिको सेवाको अवस्था र नीतिगत अनिश्चितता सबै एकअर्कासँग जोडिएका विषय हुन्।
त्यसैले अबको नीति ‘गाडी आयात गर्ने कि नगर्ने’ भन्ने बहसमा सीमित हुनु हुँदैन। नेपालमा गाडीको उत्पादन र एसेम्बली कसरी बढाउने, रोजगारी र प्राविधिक सीप कसरी विकास गर्ने, ईभीको सुरक्षा कसरी सुनिश्चित गर्ने र उपभोक्ताले गुणस्तरीय बिक्रीपछिको सेवा कसरी पाउने भन्ने विषयमा केन्द्रित हुनुपर्छ।
नेपालले अटोमोबाइल क्षेत्रमा ठूलो उद्योग बनाउने लक्ष्य राख्छ भने त्यसको सुरुवात एसेम्बलीबाट हुन सक्छ। तर एसेम्बलीलाई अन्तिम गन्तव्य होइन, उत्पादनतर्फ जाने पहिलो खुड्किलोका रूपमा हेर्नुपर्छ। त्यसका लागि स्थिर नीति, प्रतिस्पर्धी लागत, दक्ष जनशक्ति, प्रविधि र दीर्घकालीन लगानीको वातावरण आवश्यक छ।
ईभीको लहरलाई रोक्ने होइन, त्यसबाट सिर्जना हुने अवसरलाई नेपाली उद्योगको विकाससँग जोड्ने चुनौती अब सरकार र निजी क्षेत्र दुवैसामु छ। प्रविधि परिवर्तनलाई बजारले स्वीकार गरिसकेको अवस्थामा नीति र पूर्वाधार भने त्यसको पछाडि दौडिने होइन, सँगसँगै अघि बढ्नुपर्ने समय आएको छ।
दीपक थपलिया लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का महाप्रबन्धक हुन् ।



















प्रतिक्रिया