Logo

प्रमुख समाचार

सभापति शेरबहादुर देउवालाई शेखरले दिए यस्तो चेतावनी, के भने ?



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई जथाभावी बोल्दै नहिँड्न चेतावनी दिएका छन् ।सोमबार बिहान पत्रकार सम्मेलनमा बोल्दै डा। कोइरालाले कोइराला परिवारको योगदान कांग्रेसले बिर्सिन थालेको भन्दै दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस कोइरालाहरुको मात्रै पार्टी नभएर धेरै कार्यकर्ताहरुको रगतले सिँचित पार्टी भएको बताउँदै नेता कोइरालाले सभापति देउवाले त्यो कुरा आफूलाई सम्झाइरहनु नपर्ने प्रतिक्रिया पनि दिए ।

‘नेपाली कांग्रेस कमजोर छ, नेपाली कांग्रेसको संगठन शून्य बराबर छ, चुनावमा हार्नु ठूलो कुरा होइन, चुनावमा हारको जिम्मा नेतृत्वले लिनुपर्छ भन्दा कारबाहीको धम्की आउँछ भने मेरो भन्नु केही छैन’, नेता कोइरालाले भने, ‘कांग्रेस कसरी मजबुद बनाउने संगठन कसरी बलियो बनाउने भन्ने विषयमा बोल्दा कसैलाई चित्त दुख्छ भने त्यसको मसँग उत्तर छैन, किनभने म एउटा राजनीतिक संस्कार बोकेको व्यक्ति हो, त्यो राजनीतिक संस्कार छोड्न सक्दिनँ, सभापतिलाई म सम्मान गर्छु तर जे बोल्नुभएको छ मेरो बारेमा त्यो उहाँको संस्कार हो ।’

‘गिरिजाप्रसाद कोइरालाको योगदानलाई कांग्रेसले नै बिर्सिन थाल्यो, यो दुःखदायी कुरा हो,’ कोइरालाले भने, ‘गिरिजाप्रसाद कोइरालाले गरेको तत्कालीन संसद पुनःस्थापनाको मागलाई विश्वले स्वीकार गरेको थियो, तर वर्तमान सभापतिले विर्सन थाल्नु भयो त्यो चिन्ताको विषय हो ।’

साथै उनले देउवाले विधानविपरीत १४ औं महाधिवेशनलाई पर धकेल्ने प्रयास गरिरहेको आरोप लगाए । नेता कोइरालाले सभापतिले गैरजिम्मेवार ढंगले साढे ५ वर्ष कार्यकाल रहेको छ भनेर बोल्दै हिँड्नु गलत भएको पनि बताए ।उनले कांग्रेसको १४ औं महाधिवेशनबाट विधानअनुसार पार्टी अगाडि नबढेसम्म कांग्रेस कमजोर बनिरहने बताए ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ७ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।