Logo

प्रमुख समाचार

नयाँशक्ति रसुवाका प्रदेश सांसद तामाङ कांग्रेस प्रवेश



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले विप्लवको हिंसात्मक गतिविधि रोक्न नसक्नु रहस्यको विषय भएको बताएका छन्। झापामा केपी ओली संलग्न तत्कालिन मालेले सुरु गरेको हिंसात्मक द्वन्द्वलाई प्रचण्डले बढावा दिएको बताउँदै अहिले दुवै नेताले नेतृत्व गरेको सरकारले विप्लवको हिंसात्मक द्वन्द्वलाई रोक्न नखोज्नु रहस्यमय विषय उल्लेख गरे।

रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसद प्रेम तामाङसहितको टोली नेपाली कांग्रेसमा प्रवेश गराउँदै नेता पौडेलले कम्युनिष्टहरुले हिंसा रोक्न नखोज्नु रहस्यमय भएको बताए। उनले भने–‘केपी ओली समेत संलग्न भएको पार्टीले झापाबाट सुरु गरेको हिंसात्मक द्धन्दलाई प्रचण्डले देशव्यापी बनाए। अहिले विप्लवको हिंसात्मक द्धन्दलाई वेवास्ता गरिरहेका छन्। यो भन्दा रहस्य अरु के हुन्छ ?’

वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुले क्रान्ति मान्छेको टाउको काटेर सुरु गरेको तर कांग्रेसले क्रान्तिको सुरुवात हलो जोतेर गरेको स्मरण समेत गरे।

नेता पौडेलले कम्युनिष्टहरुले वास्तविकता महशुस गर्ने वित्तिकै कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को लाग्ने बताउँदै साम्यवादको सपना देख्ने मान्छेहरुले साम्यवाद मिथ्या रहेछ भन्ने महशुस गर्न थालि सकेको पौडेलको भनाई थियो। उनले भने–‘अहिले सवै दल नेपाली कांग्रेसले अंगालेको नीतिमा आएका छन्। साम्यवाद मिथ्या रहेछ भन्ने मान्छेहरु बढ्दै छन्। अब कांग्रेस प्रवेशमा लर्को लाग्छ।’

नेपाली कांग्रेस विगतदेखि बर्तमानसम्म एउटै आर्दशमा रहेको बताउदै प्रश्न गर्दै भने–‘हिजो कम्युनिष्ट नेताहरु जे भन्नुहुन्थ्यो, आज त्यो भन्नुहुन्न तर हामी जे भन्ने गर्दथ्यौ आज पनि त्यही भन्दै छौ।’

‘प्रधानमन्त्री जीले समृद्धिको जग बसाएको भाषण गर्नुभएको छ। आम नागरिकले महसुश गर्नुभएको छ। के आज समृद्धिको जग बसेको छ कि के के।’ पौडेलले प्रश्न गरे।‘समृद्धिको जग भनेको वाइडवडीमा चार अर्ब, एनसेल काण्ड अनि सुन काण्ड हुन ?’ पौडेलको थप प्रश्न थियो।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ३ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।