कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायत नेताले कम्युनिष्ट सरकारले प्रजातन्त्रमाथि हमला गरेको आरोप लगाएका छन् । रसुवा कांग्रेस र नयाँ शक्ति जिल्ला समितिको एकीकरण सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
‘संविधानले ग्यारेन्टी गरेको व्यवस्था नियन्त्रण गर्न खोजिएको छ,’ सभापति देउवाले भने, ‘कम्युनिष्टका सरकार छ, प्रधानमन्त्री केपी ओलीले जथाभावी बोलिरहेका छन् । लेख्न, बोल्न पाउने अधिकारमाथि सामाजिक सञ्जाल अपराधका नाममा हस्तक्षेप भएको छ ।’ सभापति देउवाले प्रेस र वाक स्वतन्त्रता हनन् भएको पार्टीले नसहने बताए । उनले भने, ‘पञ्चायतमा पनि यस्तै भएको थियो, कांग्रेस अहिले पनि संघर्ष गर्न तयार छ ।’
बम पड्किन थाल्यो, शान्ति सुरक्षा खोइ ? : पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एनसेलका टावरमा भएको बम हमलाबारे सरकारको आलोचना गरेका थिए । उनले भने, ‘हिंसाबाट राजनीति सुरु गरेका केपी ओली, प्रचण्डहरुलाई मैले राष्ट्रपति निवासमा भनेको छु कि सर्पको खुट्टा सर्पले देख्छ ।’
नेता पौडेलले राजनीतिक नेतृत्वले प्रहरीलाई पक्राउ गर्न निर्देशन नदिने, देशभरि हिंसा हुने यो के हो ? भोलि हिंसा बढ्दै जाँदा कहासम्म पुग्ला ? डा. बाबुराम भट्टराईलाई पनि कांग्रेस प्रवेश गर्न सांकेतिक आग्रह गरे । उनले भने, ‘भट्टराईजी पनि दौरा सुरुवालमा ठाँटिनु भएको छ, प्रधानमन्त्री हुँदा लाउनु भएन । बाँच्न त प्रजातन्त्र नै चाहिने रहेछ भन्ने उहाँलाई लाग्या होला ।’
पौडेलले अब कम्युनिष्टको नेतृत्वमा समृद्धि हाँसिल नहुने टिप्पणी गरे । उनले भने, ‘मार्क्स र लेनिनका सुत्र घोकेर, माओका कविता भनेर समृद्धि हुँदैन । यी सबै नक्कली कुरा हुन् ।’
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति देउवाले सबैलाई समेटे आउँदो निर्वाचनमा कांग्रेस नम्बर एक हुने बताए । उनको भनाई थियो, हामीमा एकता भयौँ भने जो जहाँ मिले पनि फरक पर्दैन । अर्को चुनावमा कांग्रेसले बहुमत ल्याउँछ ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिष्ट पार्टीका नेतालाई मात्र समृद्धि आए पनि जनतालाई नआएको आरोप लगाए । उनले प्रधानमन्त्रीलाई कमेडियनले गर्ने काम गर्न थालेको भन्दै आलोचना गरे ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाई बहुमत पाएको सरकारले वर्ष दिनमा मुलुकमा विकासको काम गर्न नसकेको आरोप लगाए । उनले एनसेल टावरमा बम आक्रमण गर्नेहरुमाथि कारबाही गर्न सरकारसँग माग गरे । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले वर्ष दिनमा सरकार संविधान कार्यान्वयन, सुशासनमा चुकेको आरोप लगाए ।
प्रतिक्रिया