मनाङ । मर्स्याङ्दी नदीमा आएको लेदोसहितको गेग्रान बस्तीमा पस्दा चामे गाउँपालिका–५ र मनाङ ङिस्याङ गाउँपालिकालाई जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बुधबार राति परेको वर्षापछि मर्स्याङ्दी नदीमा ठूलो मात्रामा लेदोसहितको गेग्रान थुप्रिएको हो। नदीको बहावसमेत बस्तीको दिशातर्फ मोडिएपछि सडक तथा आसपासका क्षेत्रमा थप जोखिम बढेको प्रशासनले जनाएको छ।
यसअघि असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मर्स्याङ्दी नदीको पुल तथा आसपासका बस्तीमा ठूलो मात्रामा गेग्रान थुप्रिएको थियो। प्रशासनले विभिन्न मेसिन तथा उपकरण प्रयोग गरी नदीको बहाव बस्तीबाट अन्यत्र मोड्ने प्रयास गर्दै आएको थियो।
तर २१ गते राति पुनः आएको बाढीले नदीको बगर भरिएपछि लेदोसहितको भेल बस्तीको भागमा समेत पसेको प्रशासनले जनाएको छ। अहिले नदीमा थुप्रिएको गेग्रान हटाउने काम भइरहेको छ।
सडक र पुल अवरुद्ध भएपछि माथिल्लो मनाङतर्फ हुने खाद्यान्नलगायतका सामग्रीको ढुवानी रोकिएको छ। स्थानीय बासिन्दालाई नदी वारिपारि आवतजावत गर्नसमेत कठिनाइ भएको छ।
पर्यटकको आवागमनलाई ध्यानमा राख्दै भने वैकल्पिक पदयात्रा मार्ग सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ।
सडक तत्काल सञ्चालनमा ल्याउन नसकिएकोमा जिल्ला प्रशासन कार्यालयले नागरिकसँग क्षमायाचना गर्दै आवागमन सहज बनाउन आवश्यक प्रयास भइरहेको जनाएको छ। नदीमा थप बाढी वा गेग्रान आउन सक्ने जोखिम रहेकाले स्थानीयलाई सतर्क रहनसमेत आग्रह गरिएको छ।



















प्रतिक्रिया